२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

लुम्बिनीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस निर्णय



काठमाडौं ।
लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्री लीला गिरीलाई हटाएर आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने निर्णयमा नेपाली कांग्रेस पुगेको छ।

लुम्बिनीमा दस दलीय गठबन्धनको सहयात्री माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरिरहेका बेला कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो।

शुक्रबार बिहान प्रदेश संसदीय दलको बैठकले कांग्रेसको नेतृत्वमा सरकार निर्माण प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको सांसद दलबहादुर रानाले बताए। हाल लुम्बिनीमा एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्रको सहभागिता छ।
लुम्बिनी प्रदेशसभामा कांग्रेसका २७ सांसद छन्।

कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले यसअघिकै गठबन्धनमा माओवादीले सरकारको नेतृत्व गरिसकेकाले प्रदेशको नेतृत्व स्वभाविक रूपमा कांग्रेसले पाउनुपर्ने बताए।

‘शुक्रबार संसदीय दलको बैठक बसेर एकै विषयमा निर्णय गरेको छ। कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छौं। त्यसका लागि एमाले मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ’, चौधरीले भने।

बिहीबार माओवादी संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने भनिए पनि हालसम्म लिइएको छैन।

प्रकाशित मिति : १० चैत्र २०७९ शुक्रबार ००:००  २ : ४२ बजे