१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

हरियो धनियाँ बेचेर वार्षिक तीन लाख रुपैयाँ आम्दानी



म्याग्दी ।
दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नुहुन्छ । बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रुपमा गरेको धनियाँ खेतीबाट राम्रै आम्दानी गर्नुभएको हो ।

कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गर्नुभएको छ । धनियाँको साथमा ब्रोकाउली, बन्दा, टमाटर, काउली, गाँजर, केराउलगायतका तरकारी खेती गर्नुभएका कार्कीले धनियाँ बेचेर मात्र एकै मौसममा डेढ लाखभन्दा बढी आम्दानी भएको बताउनुभयो । हिउँद र वर्षा गरी दुई सिजनमा तरकारीका साथै धनियाँ खेती गरिन्छ । सात सय रुपैयाँको बीउ र चार हजार रुपैयाँ बराबरको श्रम खर्चेर धनियाँ खेती गर्नुभएका कार्कीले खेती विस्तार गर्ने योजनामा रहेको सुनाउनुभयो ।

म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल नजिकै कार्कीले पसल र तरकारी खेती गर्नुभएको छ । लभ्लीहिलमा आन्तरिक पर्यटकको वृद्धिसँगै कार्कीको कृषिउपजको पनि त्यतिकै बिक्री बढ्ने गरेको छ । लभ्लीहिलमा आएका युवायुवती, गृहिणी र लोग्नेमान्छेले समेत बारीबाट नै ताजा तरकारी आफैँ टिपेर लैजाने गरेका कार्कीले बताउनुभयो । “अहिले अरु तरकारी सकिएको छ, तर धनियाँ भने प्रशस्तै छ”, कार्कीले भन्नुभयो ।

कार्कीले धनियाँको एउटा मुठोलाई २० देखि ३० रुपैयाँ सम्ममा बिक्री गर्दै आउनुभएको छ । कार्कीको खेतबाट नै दैनिक ५० देखि ८० मुठा धनियाँ बिक्री हुने गरेको छ भने बाँकी नजिकको बेनी बजारमा लगेर बिक्री गर्दै आउनुभएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९ शनिबार ००:००  ७ : ५७ बजे