१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गठबन्धनमाथि केपी ओलीको टिप्पणीः दशतिर फर्किएका दश वटा मुख



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान दश दलीय गठबन्धनले देश नै निमिठ्यान्न पार्ने बताएका छन् ।

शनिबार कपिलवस्तुमा आयोजित जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पुतलीको एउटा चरण हुन्छ, झुसे किरा, लार्भा भन्ने । त्यसले त रुखका पात मात्र निमिठ्यान्न पार्छ । यिनीहरुले त देश नै निमिठ्यान्न पार्छन् । दशतिर फर्किएका १० वटा मुख छन् ।’

आफू प्रधानमन्त्री भएका बेला असाधारण काम भएको दाबी गर्दै उनले भने, ‘विदेशीको लागि, विदेशीको इसारामा काम गर्ने होइन । देशका लागि, नेपाली जनताको चाहना अनुसार चल्ने सरकार, जनताको लागि काम गर्ने, शान्ति, सुव्यवस्था कायम गर्ने सरकार बनाउन चाहन्छौं ।’

नेकपा एमालेले जेष्ठ नागरिक भत्ताको व्यवस्था गरेको बताउँदै उनले त्यसमा नेपाली कांग्रेसले भ्रम छरेको आरोप लगाए ।

‘एमालेले जेष्ठ नागरिक भत्ताको व्यवस्था गर्यो,’ उनले भने, ‘कांग्रेसले गएर हामीले पो दिएको त भनेर बुढाबुढीलाई भ्रम छर्ने काम गर्छ ।’

गत निर्वाचन एमालेको लागि अस्तित्वको लडाई भएको तर लोकप्रिय मत हासिल गरेर पहिलो पार्टी भएको उनले दाबी गरे । आगामी निर्वाचनमा नेकपा एमालेले तीन तहकै सरकारमा ५१ प्रतिशत मत हासिल गर्न ‘मिसन ग्रासरुट’ अभियान चलाएको उनको भनाई छ ।
कपिलवस्तुमा रहेका संघीय सांसदका तीन निर्वाचन क्षेत्रमध्ये अहिले २ वटामा मात्र जित हासिल गरेकोमा जिल्ला नेतालाई धन्यवाद दिदैं उनले आगामी निर्वाचनमा तीन वटै क्षेत्र जित्ने गरी लाग्न निर्देशन दिए । कपिलवस्तु ज्ञानको भूमि भएको उनले बताए ।

उनले एमालेले बलियो राष्ट्रिय शक्ति निर्माण चाहेको बताए । विकासको अभियान अघि बढाउन, सुशासन कायम राख्न, शान्तिपूर्ण समाज बनाउन, भयरहित वातावरण निर्माण गर्न एमाले नेतृत्वको सरकार आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७९ शनिबार ००:००  ७ : ५४ बजे