१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

आज चैते दशैँ, शक्तिपीठमा भक्तजनको घुइँचो



काठमाडौं ।
नवदुर्गा भवानीको पूजा आराधना गरी आज चैते दशैँ मनाइँदैछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन चैते दशैँ मनाउने गरिन्छ । आज शक्तिपीठ तथा देवी मन्दिरहरुमा पूजा गर्ने भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।

वर्ष चार नवरात्र हुन्छन् । त्यसैले विगतमा चार किसिमका दशैँ धुमधामका साथ मनाउने चलन थियो । तर अहिले भने आश्विन शुक्ल पक्षको बडादशैँ र चैते दशैँ मात्रै मनाइन्छ । अहिले आषाढ र षौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकहरुले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् ।

चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ । यसका साथै आजकै दिन मर्यादा पुरुषोत्तम श्रीराम आफ्नो १४ वर्षे वनबास सकाएर अयोध्या फर्किएको मानिन्छ ।

बडादशैँ जस्तै चैते दशैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनका लागि हो । बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दशैँका अवसरमा विशेष पूजा हुन्छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

हनुमानढोकामा बलिसहित पूजा

प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन पनि बलिसहित पूजा गरिन्छ । पूजासँगै चैत्र शुक्ल अष्टमीका दिन राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने कामनाले बलि दिइन्छ ।

बिहान पूजा आराधना गरी ५४ बोका र ५४ राँगाको बलि दिने प्रचलन छ । बडा दशैँमा भने १०८ बोका र १०८ राँगाको बलि दिई पूजा हुन्छ । चैत्र शुक्ल प्रतिपदादेखि नै दशैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ गरिन्छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९ बुधबार ००:००  ६ : २३ बजे