१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

धानखोलाको गुप्तेश्वर महादेव गुफा ओझेलमा



दाङ ।
दाङ अर्घाखाँची र कपिलवस्तुको केन्द्रविन्दुमा रहेको धानखोलास्थित पर्यटकीय सम्भावना बोकेको गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।

लुम्बिनी प्रदेशको राजधानी भालुबाङ बजारदेखि करिब १५ किलोमिटरको दूरीमा पर्ने गुप्तेश्वर महादेव गुफा पर्यटकीय सम्भावना बोकेको पर्यटकीय स्थल हो।

लुम्बिनी प्रदेशको ३ जिल्ला दाङ, कपिलवस्तु र अर्घाखाँचीको केन्द्र विन्दु अर्थात सिमानामा पर्ने उक्त गुफाभित्र विभिन्न देवीदेवताहरूका आकृति देख्न सकिन्छ। पूर्वपश्चिम राजमार्गको धानखोला बजारनजिकै पर्ने उक्त गुफासम्म पैदल हिँडेर ५ मिनेटमा पुग्न सकिन्छ।

अधिकांश स्थानीयलाई समेत यो गुफा कहाँ छ भन्ने थाहा छैन। गुफा संरक्षण तथा प्रचारप्रसारमा राज्यको ध्यान नजाँदा पर्यटकीय सम्भावना रहेर पनि पछि परेको उक्त गुफा संरक्षण समितिका अध्यक्ष रमेश बजगाईँले बताए।

उनले भने, ‘यहाँ गुप्तेश्वर महादेवको गुफा रहेको छ। प्रचारप्रसार नहुँदा अहिलेसम्म ओझेलमा परेको छ। गुफा एकदमै राम्रो छ।’ उनले स्थानीय सरकार वा प्रदेश सरकारले यसको प्रचारप्रसार गर्न सके यो पर्यटकीय स्थल बन्न सक्ने उनको भनाइ छ।

पूर्व-पश्चिम राजमार्गनजिकै रहेको हुँदा पनि यो पर्यटकीय स्थल बन्ने पनि उनको दाबी छ। गुफाको भित्ताभरि नै विभिन्न देवीदेवताका आकृतिसँगै चमेरा पनि बसेका छन्। गुफामा प्रवेश गर्नासाथ प्राकृतिक विविधताले भरिपूर्ण मनोरम दृश्यका देख्न सकिन्छ।

यो गुफा पूर्वपश्चिम राजमार्ग बनाउने क्रममा विसं २०३० सालतिर पत्ता लागेको थियो। धेरै वर्ष पहिले उक्त गुफा रहेको ठाउँलाई शिवराज धाम तीर्थस्थलको रुपमा परिचित रहेको स्थानीयको भनाइ छ।

गुफाको माथि शिवपार्वती बस्ने गरेकोले अहिले पनि उक्त गुफाभित्र शिवपार्वतीको प्राकृतिक शिला मूर्तिसमेत रहेको स्थानीय ज्ञानबहादुर दर्लामीले बताए। उनका अनुसार यस गुफाको संरक्षण नहुँदा कैयौँ आकृति मासिँदै गएका छन्।

हाल उक्त गुफा रहेको धानखोलामा प्रत्येक वर्ष महाशिवरात्रिमा ठूलो धार्मिक मेलासमेत लाग्दै आएको छ।

उनले भने, ‘यो हाम्रो बाउबाजेको पालादेखि नै यस क्षेत्रलाई शिवराज धाम भन्ने गरिन्थ्यो। यो ३ वटा जिल्लाको संगम रहेको ठाउँ पनि हो। यहाँ विभिन्न ठाउँमा पूजाआजा गर्न मानिसहरू आउने गर्थे। तर यसको प्रचारप्रसार नहुँदा र भौतिक संरचना नबन्दा ओझेलमा परेको छ।’उनले विभिन्न दाताको सहयोगमा गुफा संरक्षणका लागि केही गरे तापनि राज्यले नहेर्दा भने जस्तो नभएको बताए।

प्रकाशित मिति : १६ चैत्र २०७९ बिहिबार ००:००  ६ : १२ बजे