५ चैत्र २०८०, सोमबार | Mon Mar 18 2024

चुनौतिको सामना गरेरै अगाडी बढ्दै मेयर थापा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा चुनौतिको सामना गरेरै नगरको दीर्घकालिन विकासमा लाग्नुभएको छ ।

समृद्ध नगर बनाउने अभियानमा लाग्नुभएका नगर प्रमुख थापा कामको दौरानमा आउने चुनौतिलाई मोलेरै अगाडी बढ्नुभएको हो ।

माध्यमिक तहसम्मको शिक्षा निशुल्क बनाउने अन्तिम गृहकार्यमा लाग्नु भएका थापाले जोखिम मोलेरै आजसम्म नीजि स्रोतबाट पढाउँदै आएका शिक्षकलाई हटाउनुभयो ।

शिक्षाको गुणस्तर सुधारका लागि पुरानो परिपाटीले परिवर्तन नआउने देखेपछि शिवराजले आकर्षक सेवा सुविधासहित शिक्षक भर्नाको नयाँ आवेदन खुलाएको छ । नयाँ आवेदन खुला एक प्रकारको ठूलै जोखिम थियो ।

आजसम्म जसरी–त्यसरी पढाउँदै आएका शिक्षक कुनै पनि हालतमा पेशा छाड्न मान्दैनथे । तर नगर प्रमुख थापाले जोखिम मोलेरै शिक्षा सुधारमा लाग्नुभएको छ ।

कतिपय सामुदायिक विद्यालयमा अध्ययन गराउने शिक्षकको लाइसेन्स समेत थिएन । राजनीतिक पहुँचमा भर्ना भएका कतिपय शिक्षकको पढाउने क्षमता कमजोर थियो । यिनै शिक्षकबाट शिक्षाको रुपान्तरण नदेखेपछि शिवराजले नयाँ शिक्षक भर्नाको आवेदन खुल्ला गरेको हो ।

यसको विरुद्धमा नगर कार्यालय समेत घेर्ने काम भएको थियो । आफूहरु विना शर्त पुर्नवहाली हुनुपर्ने माग गरेका शिक्षक अन्ततः नयाँ भर्ना प्रक्रियाबाट छनौट हुनुपर्ने भएको छ ।

आजसम्म पढाउदै आएका शिक्षक यदी नयाँ भर्ना शिक्षक आवेदनमा सामेल भए केही अंक थप हुने प्रबन्ध शिवराजले मिलाएको छ । जस्तै सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुलाई यो विज्ञापनमा आवेदन पेश गर्न उमेर हद लाग्ने छैन् । यस्तै अन्तवार्ताका लागि छनौट भएमा सम्बन्धित तहमा कार्यरत शिक्षकलाई प्रत्येक बर्षको एक अंकका दरले बढीमा ८ अंकसम्म अनुभव वापतको अंक दिइने छ । नगरकै स्थायी बासिन्दा भएमा ४ अंक थपिने छ ।

यतिमात्र होइन नगर प्रमुख थापालाई अस्थायी स्मार्ट शौचालय निर्माणका क्रममा समेत विरोध आयो । चन्द्रौटा बजारको एक सार्वजनिक जग्गामा बनाउन थालिएको सार्वजनिक शौचालय निर्माणमा ठूलै विरोध आएपनि नगर प्रमुख थापा एक इन्च डगमगाउनुभएन् ।

शौचालय निर्माणमा अवरोध गर्ने विरुद्ध भेटेरै नगर प्रमुख थापाले काम नरोक्ने अडान राख्नुभयो । नगरको सम्पत्तिको रक्षा र सुरक्षा गर्ने दायित्व आफूहरुको भएको र नगरले बनाउन थालेको अस्थायी स्मार्ट शौचालय निर्माणमा कसैले विरोध गर्नुपर्ने स्थिति नभएको उहाँको तर्क थियो ।

बुधबार लामो रस्साकस्सीका बीच शौचालय निर्माण बनाउने कामको थालनी भएको छ । नगर प्रमुख बनेदेखि नगरको विकासका जस्तासुकै जोखिम उठाउन तयार हुनुभएका थापाको कामलाई लिएर धेरैले प्रशंसा गर्ने गरेका छन् ।

पुरातन सोच, चिन्तन र शैलीलाई हटाउन सजिलै नसकिने भन्दै शिवराजका मेयरले गरेको आँट र हिम्मतलाई साथ दिनुपर्नेमा अधिकांशको जोड छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९ बिहिबार ००:००  ७ : ०८ बजे