४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

आजदेखि यस वर्षको एसइई परीक्षा, लुम्बिनी प्रदेशमा १८ हजार बढी विद्यार्थी सहभागी हुँदै



बुटवल ।
यस वर्षको एसइई परीक्षा आजदेखि कपिलवस्तु सहित देशभर सुरु हुँदै छ । त्यसका लागि सबैजसो जिल्लामा परीक्षाको तयारी सकिएको जनाइएको छ ।

लुम्बिनी प्रदेशमा पनि परीक्षा संचालनका लागि आवश्यक सबै तयारी पूरा भएको छ । बिहान ८ बजेदेखि सुरु हुने उक्त परीक्षाका लागि लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रुपन्देहीबाट १८ हजार ७ सय ८३ विद्यार्थी सहभागी हुँदै छन् भने सबैभन्दा कम पूर्वी रुकुमबाट १ हजार ९८ जनाले परीक्षा दिने भएका छन् ।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय दाङले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशमा नियमित, प्राविधिक र ग्रेड बृद्धी तर्फ गरी जम्मा ८५ हजार ४ सय २४ विद्यार्थीले परीक्षा दिदैँ छन् ।

निर्देशनालयका सूचना अधिकारी माधव पोख्रेलका अनुसार सबै भन्दा बढी विद्यार्थी रुपन्देहीमा छन भने त्यस पछि दाङमा १३ हजार ४ सय ४८, बाँकेमा ८ हजार ८ सय ८६, कपिलवस्तुमा ८ हजार ६ सय ९९ विद्यार्थी एसइईमा सहभागि हुँदै छन् ।
यस्तै बर्दियाबाट ७ हजार ६ सय ८२, नवलपरासीबाट ६ हजार ६२, गुल्मीबाट ४ हजार ७ सय २२, पाल्पाबाट ४ हजार ५ सय ४६, प्यूठानबाट ४ हजार १ सय ७२, रोल्पाबाट ४ हजार ४१ र अर्घाखाँचीबाट ३ हजार २ सय ७५ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

प्रदेशभरका १२ वटै जिल्लाका सबै परीक्षा केन्द्रमा उत्तर पुस्तिका, प्रश्नपत्र र केन्द्राध्यक्षहरु सहित आवश्यक कर्मचारीहरु पुगिसकेका छन् भने परीक्षा केन्द्रहरुको आवश्यक सुरक्षा प्रबन्ध समेत मिलाइ सकिएको छ । कपिलवस्तुमा यशोधरा गाउँपालिका बाहेकका अन्य ९ वटा पालिकामा २९ वटा केन्द्र निर्धारण गरिएको छ ।

प्रदेशभर यस पटक साधारण तर्फ ८० हजार १ सय ६५ जनाले परीक्षा दिदैँ छन् भने प्राविधिक तर्फ २ हजार ९ सय ५७ र ग्रेड बृद्धी तर्फ २ हजार ३ सय २ जनाले परीक्षा दिने निर्देशनालयका सूचना अधिकारी पोख्रेलले जानकारी दिनुभयो । आजदेखि सुरु हुने उक्त परीक्षा चैत्र २९ गते सकिने छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९ शुक्रबार ००:००  ६ : १४ बजे