१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्राचीन तिलौराकोटमा भिक्षुहरूलाई भिक्षाटन



तौलिहवा ।
राजा शुद्धोधनको राजदरबार तथा बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा भिक्षुहरूलाई भिक्षाटन गरिएको छ । उनीहरू शिक्षासहित भिक्षाटन गर्न बुद्धस्थल प्राचीन तिलौराकोट आएका हुन् । दुई साताअघि उनीहरू पाँचसय जना एकै पटक लुम्बिनीमा भिक्षु जीवनमा प्रवेश गरेका थिए ।

भिक्षु जीवनमा प्रवेश गरेको तीन सय बढी नवप्रवेशीहरुले भिक्षाटन गरेका हुन् । तिलौराकोट आएका उनीहरूलाई कपिलवस्तु नगरपालिका –३ का वडाध्यक्ष प्रकाश गैरे, वाटथाई मन्दिरका उपाध्यक्ष राजेश ज्ञवाली, प्रदेश निर्माण व्यवसायी सङ्घका उपाध्यक्ष दिनेश हमाल, व्यवसायी देवेश जैसवालले भिक्षादान गरेका थिए ।

तिलौराकोटको पश्चिमद्वारमा भिक्षा ग्रहणलगत्तै उनीहरूले दरबार परिसर, मौर्याकालिन पोखरी र पूर्वीद्वारलगायतका क्षेत्रको अवलोकन समेत गरेका थिए । साथै तिलौराकोट आएर उनीहरूले विश्व शान्तिका लागि प्रार्थना र पाठ समेत गरेका थिए । उनीहरूले तिलौराकोटमा पश्चिमी र पूर्वीद्वार तथा राजप्रसादका भग्नावशेष परिक्रमा गरेका हुन् ।

पूर्वको भोजपुरदेखि पश्चिमको कैलालीसम्मका पाँच सय जनाले सामूहिक रूपमा प्रव्रज्या लिएर गत चैत २ गते श्रामनेर बनेका छन् । श्राम नेर भनेको भिक्षु जीवन प्रवेशको पहिलो खुट्किलो हो । भिक्षु जीवनमा प्रवेश शुभारम्भ गर्नु हो ।

भगवान् गौतम बुद्धको अनुयायी बन्न पनि कठिन परिश्रम र सङ्घर्षबाट मात्र हुन सकिन्छ भन्ने अनुभूति दिलाउन उनीहरूलाई पारिवारिक मायामोहबाट अलग बनाएर केही दिनदेखि दीक्षित गरिदैआएको छ । नव प्रतिवेशी श्रामनेरलाई ७५ सेखिया विनय शिक्षापद र १० सिल सिकाइएको छ । तचपञ्चक ध्यान सिकाइएको छ ।

भिक्षुहरुले राम्ररी व्यवहारमा उतारेको पाइयो भने दुई चार महिनामै भिक्षु सङ्घले पूर्णभिक्षु बनाउन सक्ने भिक्षु महासङ्घ अध्यक्ष शोभन महाअस्थबीरले बताए ।

नबप्रवेशी भिक्षुलाई बुद्ध जीवनी, लुम्बिनीको इतिहास, बौद्ध शिक्षाको महत्त्व र बुद्धले बुद्धत्व प्राप्त गर्दा पाएको कष्ट पीडाबारे जानकारी दिइएको छ । त्यस्तै, भिक्षु जीवन, करुणा, मैत्री सद्भाव र भाइचारालगायतका विषयमा ज्ञान दिइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९ शुक्रबार ००:००  ६ : २१ बजे