७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

के फेरि सल्किँदैछ कोरोनाको डढेलो ?



काठमाडौं ।
नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सविवि १.१६’ बढी सङ्क्रामक रहेको पाइएको छ । चिकित्सकका अनुसार नयाँ भेरियन्ट तुलनात्मक रूपमा कम घातक र बढी संक्रामक छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा हेमन्त ओझाले नयाँ भेरियन्टले दीर्घरोगी, रोगसँग लड्न क्षमता कम भएका मानिस, वृद्धावृद्धलाई बढी समस्या गराउन सक्ने बताए ।

भारतमा देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ नेपालमा पनि अनुवांशिक अध्ययन गर्दा १० वटा देखिएको उनको भनाइ छ । ‘भारतमा देखिएअनुसार नयाँ भेरियन्टका कारण धेरै संक्रमितलाई गम्भीर बनाएको देखिँदैन र अधिकांश अस्पताल भर्ना नभएको पाइएको छ’, उनले भने ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलले नयाँ देखिएको ओमिक्रोनको भेरियन्ट घातकभन्दा पनि बढी मानिसलाई सार्ने बताइन् । ‘यो डेल्टा भेरियन्टभन्दा कम घातक छु, उनले भनिन्, ‘नयाँ भेरियन्ट मानिसमा भने चाँडै फैलिन सक्छ ।’ उनले छिटो फैलिने भएकाले सर्तकता अपनाउन आग्रह गरिन् ।

नयाँ भेरियन्टबाट संक्रमितमध्ये हालसम्म चार जना अस्पतालमा भर्ना भएको उनले बताइन् । जसमध्ये तीन जना घर फर्किसकेको तथा एक जना उपचाररत रहेको उनको भनाइ छ ।

नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ संक्रमण हुँदा रुघा लाग्ने, ज्वरो आउने, घाँटी खसखस हुने, जीउ दुख्ने, खाना नरुच्नेजस्ता लक्षण देखिन्छन् । रासस

प्रकाशित मिति : २३ चैत्र २०७९ बिहिबार ००:००  ८ : ३४ बजे