१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सिष्टमबाट काम भएन, अब सिष्टमको विकास गरौंः मन्त्री पन्थी



मायादेवी अनलाइन, बाणगंगा ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीले स्वास्थ्य क्षेत्रमा श्रेष्ठता हासिल गर्नुपर्ने बताउनुभएको छ ।

अधिकांश काम सिस्टममा नहुने गरेको प्रसङ्ग निकाल्दै मन्त्री पन्थीले सिस्टमले चल्ने प्रणालीको विकास गर्नु पर्ने कुरामा जोडदिनुभयो । नीति नियम र विधि अनुसार काम नगर्दा मुलुकमा ठूलो समस्या परेको उहाँको भनाई छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ, नेपाल रूपन्देहीले बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै पन्थीले भन्नुभयो, ‘बेगर सिस्टम चल्ने बानीले धेरै कुरा बिगारेका छौं । विगतमा कसैले गलत गर्यो भनेर हामीले गलत गर्नुपर्दछ भन्ने छैन । अरूले हामीबाट सिकुन्, राम्रो गर्दै जाने हो कसैले प्रश्न गर्न नसकोस् ।’

आफूले मन्त्रालय सम्हालेपछि केही नयाँ निर्णय र प्रक्रियागत कामहरु अघि बढाइएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आफूले गरेर अरूलाई काममा लगाउने वातावरण बनाउनु पर्दछ । आफू फ्रन्टमा आएर काम गर्नु पर्दछ । प्रादेशिक अस्पतालमा बिषेशज्ञ सेवा दिने गरी अघि बढाउनु पर्नेछ । जिल्ला जिल्लामा सामान्य बिरामीलाई उपचार गराएर प्रादेशिकको चाँप घटाउनु पर्नेछ । जिल्लाबाट रिफर बिरामीलाई मात्र हेर्ने गरी विषेशज्ञ सेवा सञ्चालन गर्नु पर्दछ । संघ संगठनले स्वास्थ्यका समस्यालाई पार्टीका एजेण्डा बनाएर जिम्मेवार बन्नु पर्दछ ।’ प्रदेशका जनताको गुणस्तरिय स्वास्थ्य सेवा दिन संगठनले सुझाव सल्लाह निरन्तर दिनुपर्ने बताउनुभयो ।

प्रदेश स्वास्थ्य सचिव डा. विनोद कुमार गिरीले प्रदेशमा काम गरेको अनुभव राम्रै रहेको भन्दै काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो । ‘हामी अनुभवि छौं, स्वास्थ्यका समस्याका बारेमा सुझाब सल्लाहबाट अघि बढ्छौं सचिव गिरीले भन्नुनभयो, ‘प्रदेशको स्वास्थ्य राम्रो वनाउने जिम्मेवारी हामी सबैको हो, जनताको स्वास्थ्यका सूचकमा स्वास्थ्य कर्मी जिम्मेवार हुनुपर्दछ ।’

कार्यक्रममा महासंघका केन्द्रिय सचिव खगराज पोखरेल, महासंघका लुम्विनी प्रदेश अध्यक्ष चिन्तामणी ज्ञवाली, पेशागत महासंघका नेत्र आचार्य, स्वास्थ्यकर्मी महासंघका जिल्ला अध्यक्ष रामेश्वर ढकाल लगायतले मन्त्रालयले आम नागरिकले स्वास्थ्यको क्षेत्रमा राम्रो सेवा सुबिधा पाउने विषयमा महत्वपूर्ण कदम चाल्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २५ चैत्र २०७९ शनिबार ००:००  ८ : ४२ बजे