१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

यी हुन् कृषि मन्त्री भुसालको प्राथमिकतामा परेका क्षेत्र



काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले आफ्ना केही प्राथमिकताका क्षेत्र निर्धारण गर्नुभएको छ । नव नियुक्त कृषि मन्त्री भुसालले मन्त्रालयगत रुपमा भए गरेका हरेक औपचारिक, अनौपचारिक कार्यक्रममा आफ्ना प्राथमिकताका क्षेत्र प्रस्तुत गर्दै आउनुभएको हो ।

मन्त्री भुसालले कृषिको व्यवसायिकरण र औद्योगिक, पोषण सुरक्षा र कृषि पर्यटनलाई प्राथमिकतामा राख्नुभएको छ ।

कृषिको व्यवसायिकरण र औद्योगिकरणमा समग्र मूल्य श्रङ्खलाको विकास गरेर जानुपर्नेमा उहाँले जोड दिनुभएको छ । किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको उत्पादन र बजारीकरणमा समस्या परिरहेका बेला समग्र मूल्य श्रङ्खलाको विकास गर्न सके केही हदसम्म समस्याको समाधान हुने मन्त्री भुसालको विश्वास छ।

पोषण सुरक्षामा हरित स्कूल र घरेलु बगैचा कार्यक्रम ल्याउने तयारीमा मन्त्री भुसाल हुनुहुन्छ । आगामी बर्ष ०८०/८१ का लागि यो कार्यक्रमसहितको बजेट बनाउने गरी अगाडि बढ्न उहाँले मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

समग्र कृषि क्षेत्रलाई अर्गानिक टुरिजम र इको टुरिजम प्रवर्धन कार्यक्रम मार्फत समेट्ने तयारीमा मन्त्री भुसाल हुनुहुन्छ ।

मन्त्रालयको मातहतका निकायलाई निर्देशन दिनुहुँदै कृषि मन्त्रीले भन्नुभएको छ, ‘मलाई परिणाम चाहिएको छ । किसानले मन्त्रालयबाट के पाइरहेका छन् त्यो आफ्ना लागि महत्वपूर्ण छ । कृषि अनुसन्धानलाई किसान र पालिकासंग जोड्ने गरी कार्यक्रम बन्नुपर्छ ।’

प्रकाशित मिति : २७ चैत्र २०७९ सोमबार ००:००  २ : ४५ बजे