१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एकीकृत समाजवादी प्रदेश सरकारहरुमा सहभागी हुन्छः अध्यक्ष नेपाल



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताएका छन् ।

मंगलबार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी प्रदेश सरकारहरुमा सहभागि हुने बताएका हुन् ।

उनले आफूहरु संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागि हुने बताउनु भयो । उनले संघ र प्रदेश सरकार दुवैमा आफुहरुको भूमिका हुने उल्लेख गरे ।

‘हाम्रा पनि मन्त्रीहरु हुनुहुन्छ । गठबन्धन दलमा हामीपनि सामेल छौँ । केन्द्रमा पनि हामी छौँँ । अब बिस्तारै हामी प्रदेश प्रदेशमा पनि सरकारमा सहभागि हुन गइरहेका छौँ । त्यस अर्थमा प्रदेशमा पनि र केन्द्रमा पनि हाम्रो भुमिका रहनेछ’, उनले भने, ‘पालिकामा जहाँ हाम्रो पार्टी संगठन छ, उहाँहरुको सहयोग लिएर, उहाँहरुसँग समन्वय गरेर गरेर काम गर्नुपर्छ । शिक्षक संगठनले पार्टीसँग समन्वय गरेर शक्ति वृद्धि गरेर दबाब सिर्जना गर्ने काममा तपाईहरु अगाडी बढ्नुहोस् ।’

अध्यक्ष नेपालले राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्व दिनुपर्ने बताए । उनले शिक्षकहरुको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने बताए । उनले कुनैपनि बालबालिकाहरुलाई विद्यालय बाहिर राख्नु नहुने बताए । सबैले कम्तिमा कक्षा १२ सम्म पढ्नसक्ने वातावरण बनाउनुपर्ने बताए ।

‘शिक्षालाई अत्याधिक महत्व दिएर यसलाई अगाडी बढाउनका लागि शिक्षकहरुको मर्यादालाई, शिक्षकको जिवनस्तरलाई राम्रो बनाउनका लागि राज्यले विशेष लगानी पनि गर्नुपर्छ’, उनले भने, ‘शिक्षा प्रदान गर्न एकजना बालबालिकापनि विद्यालय भन्दा बाहिर नरहुन् भन्ने सोच राखेर सबै बालबालिकालाई न्यूनतम पनि कक्षा १२ सम्म पढ्ने वातावरण हामीले उपलब्ध गराउनु पर्दछ । प्रत्येक युवाहरुलाई हामीले प्राविधिक शिक्षा दिनुपर्छ । र प्राविधिक तालिम दिनुपर्छ । जसले गर्दा सीपयुक्त जनशक्ति उत्पादन हुन सकोस् ।’

उनले युवाहरुलाई प्राविधिक शिक्षा र प्राविधिक तालिम दिएर सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७९ मंगलबार ००:००  ५ : ०७ बजे