१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

ओझेलमा अर्घाखाँचीको सिद्धेश्वर गुफा



अर्घाखाँची ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ धातिवाङ्गको ढुङढुङ्गेमा विभिन्न आकृतिमा रहेको रहस्यमय गुफा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।

गुफाभित्र शिवलिङ्ग, पार्वती, गणेश, हात्तीको सुँढ र नागका आकृति भएका मूर्ति छन् तर प्रचारप्रसार नहुँदा आन्तरिक तथा बाह्य पर्यटक पुग्न सकेका छैनन् । परापूर्वकालदेखि यस ठाउँमा गुफा रहे पनि २०६८ सालदेखि गुफामा आउजाउ हुन थालेको स्थानीय भोजराज पौडेलले बताउनुभयो । ढुङढुङ्गे जङ्गलमा गुफा छ भन्ने हल्लापछि जङ्गलमा पुगेर खोजी गर्दा गुफा भेट्टिएको हो ।

गुफाको प्रचारप्रसारका लागि चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेशको ग्रामीण तथा सहरी विकास मन्त्रालयबाट पाँच लाख रुपैयाँ विनियोजन भई गुफाको प्रवेशद्वारसँगै आधारभूत संरचना बनाएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

गुफाभित्र रहेको विभिन्न किसिमका मूर्तिबाट पानीका थोपा खसेको दृश्य देखिने स्थानीय शिक्षक हिमलाल पौडेलले बताउनुभयो । ‘गुफाको झन्डै ४५ मिटरभित्रसम्म मानिसहरू पस्ने गर्छन्, त्योभन्दाभित्र पनि गुफा छ भने पनि कति लामो छ भन्ने यकिन गर्न सकिएको छैन गुफाभित्र बत्ती बालेरमात्रै पस्न सकिन्छ’, उहाँले भन्नुभयो ।

यसैबीच नयाँ वर्षको अवसरमा गुफाको परिसरमा रुद्री पूजा, भजनकृतन गरिएको छ । हरेक नयाँ वर्षको पहिलो दिन यहाँ रुद्री पूजा, भजनकृतन हुँदै आएको छ । गुफाको अध्ययन, अनुसन्धान गरी दर्ता गरेर व्यापक प्रचारप्रसार गर्ने तयारी रहेको छ ।

गुफाको संरक्षण तथा प्रचारका लागि स्थानीयवासी पनि सक्रिय हुन थालेका छन् । गुफाको ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्त्व रहेकाले यसको प्रचारप्रसार, संरक्षण, संवर्धनमा आफूहरू लागिपर्ने जनप्रतिनिधिहरू बताउँछन् ।

प्रकाशित मिति : २ बैशाख २०८० शनिबार ००:००  ६ : ०१ बजे