४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

कुरिलो खेतीबाट मनग्य आम्दानी



नवलपुर ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करीब डेड बिघा जमिनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आएका छन् ।

विगत ४ वर्षयता लोट्स कृषि तथा पशु फार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आएका मोक्तानले विगत २ वर्षदेखि कुरिलो खेती गर्न थालेको बताए । अन्य खेतीमा भन्दा भौगोलिक वातावरण तथा माटोको हिसाबले पनि कुरिलो खेती उपयुक्त हुने देखेपछि यसतर्फ आकर्षित भएको मोक्तानले बताए ।

पछिल्लो समयमा नवलपुरलाई कुरिलो खेतीको केन्द्र बनाउने सोचसहित आफू त्यसतर्फ लागिपरेको उनले बताए । ‘कुरिलोको महत्त्व र फाइदा बुझेपछि पछिल्लो समयमा यसको माग काठमाडौं लगायत शहरी क्षेत्रमा बढी रहेको छ,’ उनले भने ।

उनले आफूले जस्तै अरूलाई पनि खेती गर्न आग्रह गर्ने गरेका छन् । यस फार्मबाट ९ जनाले रोजगारी पाएका छन् । कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीबाट थोरै नाफा लिँदै यसको बजारीकरणमा लागेको मोक्तानले बताए । भिन्न सोचका साथ यसको आयुर्वेदिक फाइदा र महत्त्व बुझाउँदै स्थानीय क्षेत्रमा नै बजारीकरण गर्दै अहिले अन्य मानिसलाई रोजगारी समेत दिन सफल भएको उनले बताए ।

शुरूमा थोरै जमिनमा कुरिलो रोप्नु भएका मोक्तानले अब क्षेत्र विस्तार गर्न लागेको बताए । ‘बिरुवा रोपेको ४–५ महिनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हुँदा यसबाट राम्रो आम्दानी हुन्छ,’ उनले भने, ‘अहिले बारीबाट नै प्रतिकेजी ४०० रुपैयाँका दरले बिक्री गर्दै आएको छु ।’

कुरिलो तरकारीको रूपमा प्रयोग गरिन्छ । यसको स्वाद अन्य तरकारीको भन्दा मिठोसँगै फाइदा पनि उत्तिकै छ । कुरिलो खादा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा यसको माग बढ्दै गएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८० शनिबार ००:००  ९ : ५७ बजे