१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आर्थिक स्थितिलाई सबल बनाउने एक मात्र विकल्प कृषिको विकासः मन्त्री भुसाल



काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले आर्थिक स्थितिलाई सबल बनाउने एक मात्र विकल्प कृषि क्षेत्रको विकास रहेको बताउनुभएको छ । कृषिको विकास बिना आत्मनिर्भर अर्थतन्त्र हुन नसक्ने भन्दै कृषि र पशुपालनको क्षेत्रमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

पशु सेवा विभाग हरिहरभवन ललितपुरमा सोमबार राखिएको स्वागत कार्यक्रममा बोल्दै मन्त्री भुसालले पशुपालनको क्षेत्रमा आशातित काम भएको र यो नै प्रयाप्त नभएको बताउनुभयो ।

दुध, माछा, मासु र अण्डामा देश आत्मनिर्भरको बाटोमा अगाडि बढ्नस उपलब्धि नै रहेको उहाँले बताउनुभयो । यद्यपि अझै कृषिमा रहेको परनिर्भरता हटाउनका लागि समयानुकुल कार्यक्रम बनाउनुपर्नेमा मन्त्री भुसालले जोड दिनुभयो ।

आगामी आवको बजेटमा कृषि र पशुपालनको क्षेत्रमा नयाँ काम के गर्न सकिन्छ तत्काल कार्यक्रम बनाउन उहाँले निर्देशन दिनुभएको छ । किसानमुखी कार्यक्रम बनाउन उहाँले आग्रह गर्नुभएको छ ।

जे मा सम्भावना बढी छ त्यसमा लगानी गर्नुपर्ने भन्दै मन्त्री भुसालले त्यसका लागि सम्भावनाको खोजी अनिवार्य रहेको बताउनुभयो ।

देश संघीयतामा गइसक्दा पनि कतिपय ऐन, नियम र कार्यविधिहरु पुराना हुँदा काममा परिणाम आउन नसकेको बताउनुभयो । तत्काल पुराना ऐन, नियम र कार्यविधिहरु परिमार्जन गर्नुपर्नेमा उहाँको विशेष जोड छ ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. दिपक कुमार खरालले पशुको क्षेत्रमा तुलनात्मक रुपमा लाभको स्थितिमा रहेको बताउनुभयो । कृषिजन्य उत्पादनको निर्यात हुनु र माछा, मासु, अण्डा र दुधमा आत्मनिर्भरको बाटोमा सफलता भएको बताउनुभयो । साथै उहाँले कृषि क्षेत्रमा अर्थतन्त्रको कुल २४ प्रतिशत हिस्सामा योगदान रहेको भन्दै निर्यातमा पनि कृषि क्षेत्र नै अगाडि रहेको बताउनुभयो ।

मन्त्रालयमा बजेट कम हुँदा थु्रपै कामहरु गर्न नसकिएको उहाँले बताउनुभयो । देश दुध, मासु, माछा र अण्डामा आत्मनिर्भरको अवस्थामा रहेको र गरिबी न्यूनिकरणमा समेत यसको भूमिका रहेको बताउनुभयो । रोजगारीको क्षेत्रमा पनि कृषिको योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा सम्झना कुमारी काफ्ले पाण्डेले विभाग अन्तर्गत भए गरेका कामहरुको प्रस्तुतिकरण राख्नुभएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८० सोमबार ००:००  ५ : ३२ बजे