१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

घरेलु उद्यम प्रवर्द्धन गर्दै स्थानीय तह



प्युठान ।
प्युठानका स्थानीय तहहरुले घरेलु उद्यम प्रवद्र्धनमा प्राथमिकता दिन थालेका छन् । चोयाचित्रो, गिठो, सालका पातजस्ता गाउँघरमा पाइने कच्चा पदार्थबाट तयार गरिने सामग्रीको उत्पादनमा स्थानीय तहले प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरेका हुन् ।

प्युठानको झिमरुक गाउँपालिकाले चोया चित्रोबाट डोको, डाली, सोफा, कुर्सी, आस्ट्रेलगायतका सामग्री बनाउने उद्यम प्रवद्र्धन गर्न थालेको छ । झिमरुक–५ ओखरकोटमा ओखरकोट चोया चित्रो उद्योग सञ्चालनमा आएको छ । घरमै परम्परागत रूपमा गरिँदै आएको चोयाचित्राको कामलाई गुणस्तरीय र दिगो उद्यमका लागि योजना अघि सारिएको झिमरुक गाउँपालिकाकाका अध्यक्ष पितबहादुर क्षेत्रीले जानकारी दिए।

“गाउँघरमा पुख्र्यौली पेसामा रहेको कामलाई जगेर्ना गर्दै सामूहिक रुपमा उद्यममा जोड्न कार्यक्रम ल्याइएको हो”, उनले भने । गाउँघरमा भएको बासबाट सामग्री उत्पादन भइ व्यवसाय तथा रोजगारी सिर्जना गर्ने उनको विश्वास छ । बाँझो जमिनलाई उचित सदुपयोग गर्दै बाँसको ब्यबसायिक खेती गर्न प्रोत्साहित गर्नुका साथै भू–क्षय हुनबाट रोक्न यो योजना अतिप्रभावकारी हुने कार्यक्रमको रुपमा लिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय युवालाई आफ्नो गाउँ ठाउँमै सीप युक्त र आत्मनिर्भर बनाउने युवा व्यवसायी तथा चोयाचित्रो उद्योगका अध्यक्ष प्रदीप जिसीले बताए। सो उद्योगबाट पच्चीस स्थानीयवासीले डोको, मान्द्रो, डाला, सुपो, बास्केट, ढाकी, पिङ्गो, ढडिया, मुडा, स्टुल , बेञ्च, टेबुल, चियादानी, ट्रे, ओरो, सिङ्के कुचो, बाकस तथा विभिन्न चरा तथा फूलका आकर्षक चित्र बनाउन तालिम समेत लिएका छन् ।

नौबहिनी गाउँपालिकाले काठका भाडा बनाउने उद्यमलाई अघि सारेको छ । नौबहिनी–८ फोप्ली, लुप्लुङमा काठका भाडा बनाउने तालिम सञ्चालन गरी काठका भाडा बनाउन थालिएको हो । नौबहिनीका १२ युवालाई मोटरको प्रयोग गरी काठका भाँडा बनाउने तालिम प्रदान गरिएको नौबहिनी गाउँपालिकाका अध्यक्ष डिलाराम थापामगरले बताउनुभयो । उहाँका अनुसार काठबाट मही पार्ने ठेकी, घ्यू राख्ने हर्पे, कोसी, काठको गिलासलगायतका सामग्री बन्ने छन् ।

स्थानीयस्तरमा पहिले देखि गरिँदै आएको काठबाट भाँडा बनाउने पेसालाई आधुनिक प्रविधियुक्त बनाई जीविकोपार्जनमा सहयोग पर्याउने उद्देश्यले गाउँपालिकाले काठका भाडा निर्माणको उद्यमलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

माण्डवी गाउँपालिकाले दुना टपरी जन्य उद्यम अघि सारेको छ । माण्डवी गाउँपालिका–१ कुमलटारमा सालका पातबाट दुना, टपरी, प्लेट बनाउने उद्यममा स्थानीय महिलालाई जोडिएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले जानकारी दिए । त्यसैगरी जिल्लाका अन्य पालिकामा पनि सिलाइ, होजियारी, क्रिस्टलका गहना बनाउनेलगायतका उद्यमलाई स्थानीय तहबाट तालिम सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८० सोमबार ००:००  १ : ३८ बजे