१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

तराईमा मात्र देखिने औलो पहाड र हिमाल चढ्दै



काठमाडौं ।
‘शून्य औलो अबको थालनीस नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ तारिखलाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धताअनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अति महत्त्वाकाङ्क्क्षी लक्ष्य लिएको छ । यो लक्ष्यअनुसार औलो निवारण गर्न नेपालसँग मात्र तीन वर्षको समयसीमा बाँकी छ ।

स्वास्थ्य सेवा विभाग, ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहाल औलो रोग निवारण गर्न आयातित औलो चुनौतीका रूपमा रहेको बताउनुहुन्छ । उहाँका अनुसार पछिल्लो समय औलोको जोखिम तराईमा मात्र होइन, पहाड र हिमाली क्षेत्रमा समेत देखिएको छ । यसमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा बारम्बार औलोका बिरामी भेटिए उहाँले बताउनुभयो । उहाँका अनुसार आयातित औलो निवारण नै नेपालका लागि मुख्य चुनौती हो । यसबाहेक पनि औलोको परीक्षण नहुनु, भारतसँगको खुला सिमाना र भौगोलिक विकटता औलो निवारणका चुनौती हुन् ।

नेपालमा विगत एक सय वर्षदेखि औलोको समस्या देखिँदै आएको जनाइएको छ । यस रोगका बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गर्दछ । डाक्टर दाहालका अनुसार सन् २०२२ मा औलोका पाँच सय १२ बिरामी भेटिएका थिए । तीमध्ये चार सय ७६ बिरामी अन्य देशबाट औलो सङ्क्रमित भएर आएका र बाँकी ३६ स्थानीय बिरामी थिए । डाक्टरका अनुसार औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनका अनुसार औलो सङ्क्रमण भएको सातदेखि ३० दिनसम्म लक्षण देखिन सक्छ । सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिए तत्काल स्वास्थ्य परीक्षण गराउन उहाँको सुझाव छ ।

औलो कडा हुँदै गएमा जन्डिस हुने, कलेजो सुनिन्ने, मिर्गौला र श्वासप्रश्वासमा समस्या हुने र बिरामीको ज्यान समेत जान सक्ने जोखिम हुने डाक्टर पुनले बताउनुभयो । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट जोगिने उपाय भएको पनि डाक्टरले बताएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८० मंगलबार ००:००  ११ : ०६ बजे