५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्छः माधव नेपाल



सुर्खेत।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले कर्णालीमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको आरोप लगाएका छन् । आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बेल्दै अध्यक्ष नेपालले गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने उनको चेतावनी थियो । नेपालले भने-‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ। सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन। गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ ‌। यसले गठबन्धन धरापमा पार्न सक्छ ।’

अध्यक्ष नेपालले सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने आफ्नो अपेक्षा रहेको पनि बताए । समाज समृद्ध भए मात्र जनता खुसी हुने बताउँदै उनले आफ्नो पार्टी समृद्धिको अभियानमा रहेको बताए ।

भ्रष्टाचार, सबै खालका विकृतिबाट टाढा रहने र अरू भन्दा भिन्न देखिन पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिइएको पनि उनले बताए ।

आफू प्रधानमन्त्री हुँदा राज्यसत्ताको कुनै दुरुपयोग नगरेको बताउँदै नेपालले देश विकासका निमित्त आफ्नो कार्यकालमा महत्त्वपूर्ण काम भएको दाबी गरे ।

अप्ठ्यारो बेलाको र पार्टीभित्रबाट चुनौती आउँदा पनि आफूले निकै काम गरेको भए पनि त्यसको चर्चा नभएको नेपालको दुखेसो थियो । ०७४ को निर्वाचनमा पार्टीले झन्डै दुई तिहाइ मत ल्याए पनि नेतृत्वबाट त्यसको कदर हुन नसक्दा कम्युनिस्ट शक्ति तित्तरवित्तर हुन पुगेको उनले दाबी गरे ।

प्रकाशित मिति : २० बैशाख २०८० बुधबार ००:००  ११ : ३८ बजे