५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तुको चन्द्रौटामा अबैध प्रसुति सेवा सञ्‍चालन



कपिलवस्तु ।
कपिलवस्तुको चन्द्रौटामा बिना दर्ता अबैध रुपमा प्रसुति सेवा संचालन गरिएको छ । शिवराज नगरपालिका विरपुर स्वास्थ्य चौकीमा कार्यरत अनमी पुनम पोख्रेलले आफ्नै घरमा नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्दै मापदण्ड विपरीत प्रसुति सेवा सञ्‍चालन गरेको जनगुनासो आएको छ ।

पहिलो निर्वाचनमा शिवराज नगरपालिकाको स्वतन्‍त्र उपमेयर पदका उमेद्वार र दोस्रो निर्वाचनमा नेपाली काग्रेसबाट शिवराज नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष पदका उमेद्वार भएर हार ब्यहोरेका हरि पोखरेलको संरक्षणमा पत्‍नी पुनम पोखरेलले यस्तो काम गर्दै आएकी हुन् ।

नेपाली काग्रेसको प्रभावशाली नेता पोखरेलको राजनैतिक आडमा विगत वर्ष देखि बिना दर्ता अवैध रुपमा प्रसुति सेवा सञ्‍चालन गरेकी हुन् । राजनैतिक पहुँचको भरमा सञ्‍चालन गरेको प्रसुति सेवाको कसैले विरोध गर्न सकेका छैनन् । सामाजिक सञ्‍जालमा सक्रिय पोखरेल अरुलाई उपदेश दिने गरेपनि आफ्नो संरक्षणमा विगत वर्षदेखि बिना दर्ता अवैध रुपमा प्रसुति सेवा सञ्‍चालन गरिरहेका छन् ।

निस्वार्थ सेवा गर्ने स्वास्थ्य कर्मचारी हुनुपर्ने पुनम पोखरेलले गर्ववती महिलाहरूलाई आफ्नो घरमा प्रसुति गराउन दवाव दिने र मोटो रकम असुल्दै आएकी छिन् । आफ्नो घरमा प्रसुति गराउन आउने महिलालाई आक्सिटोसिन इन्जेक्सन दिने गरेकोले महिलाहरूलाई स्वास्थ्यमा समस्या देखिएको छ । उक्त औषधि डब्लु एच ओ को मापदण्ड अनुसार प्रयोग नगरी जथाभावी प्रयोग गर्नाले महिलाको स्वास्थ्यमा गम्भिर खेलवाड गरेको देखिन्छ ।

स्वास्थ्य चौकी विरपुरमा २४ घण्टे प्रसुति सेवा सञ्‍चालन भएपनि आफ्नो घरबाट बिना दर्ता सेवा सञ्‍चालन गरिको हो । यसबारे शिवराज नगरपालिका स्वास्थ्य शाखामा बुझ्दा नगरपालिकामा पटक पटक यस्तो गुनासो आएपछि सेवा सञ्‍चालन नगर्न वा दर्ता प्रकृया पूरा गर्न बारम्बार सुझाव दिँदा पनि बेवास्ता गरेको शाखा प्रमुख चुडामणि भट्टराईले बताए । आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ ले घरमा हुने प्रसुति कार्य शून्यमा ल्याउने नीति अवलम्बन गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८० बिहिबार ००:००  ८ : ०७ बजे