५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नागरिक शिखर सम्मेलन गरी शिक्षा प्रणाली सुधारको काम थालनी



वाणगंगा, कपिलवस्तु ।
कपिलवस्तुमा पहिलो पटक नगर स्तरीय नागरिक शिखर सम्मेलन आयोजना गरी शैक्षिक क्षेत्रको सुधारको काम थालनी गरिएको छ । घर घरमा शिक्षा नामक संस्थाले नगर स्तरीय सम्मेलन मार्फत सार्वजनिक शिक्षा वैज्ञानिक र व्यवहारिक हुनुपर्ने सरोकारवालाले सुझाव दिएका छन् ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा आयोजित नगरस्तरीय शिखर सम्मेलनमा सहभागी विद्यार्थी, शिक्षक, महिला समूह, संघसंस्थाका प्रतिनिधी, पत्रकार, प्रहरी, जनप्रतिनिधी सम्मिलित कार्यक्रममा नेपालको शिक्षा प्रणाली सुधारको लागि पाठ्यपुस्तकको लेखाजोखा गरी आवश्यक परिमार्जन गर्नुपर्ने सुझाव औल्याएका थिए ।

विद्यालय तथा विश्व विद्यालयमा पढाई हुने कितावहरुमा रहेका त्रुटिहरु केलाएर आवश्यक सुधार गर्ने उद्देश्य सहित यो अभियान सुरु गरिएको घर घरमा शिक्षाका संस्थापक होमराज आचार्यले जानकारी दिए । उनका अनुसार त्यस्ता त्रुटिहरु पत्ता लगाउन गाउँ, नगरस्तरबाट सुझाव संकलन गर्दै विषय विज्ञहरु संग विभिन्न चरणमा छलफल गर्दै अन्तिम निष्कर्ष दिइनेछ।

नेपालको शिक्षा प्रणाली समावेशी बनाउदै रुपान्तरणका लागि यस किसिमको अभियान, खोज अनुसन्धान नेपालमै पहिलो भएको उनले दाबी गरे । विभिन्न संघसंस्था, सरोकारवाला तथा स्थानीय निकायसंग समन्वय गरेर यस अभियानलाई सफल बनाउने योजना सहित आफुहरु अघि बढेको उनले बताए । निति निर्माणमा जनताको समेत प्रत्यक्ष सहभागीता हुनुपर्ने मान्यता राखेर शिखर सम्मेलनको रुपमा बहस चलाएको आचार्यको भनाई छ ।

अन्तराष्ट्रिय स्तरमा सार्वजनिक नीति विश्लेषकको रुपमा स्थापित आचार्यले राज्य सामन्तवादी सोचबाट अगाडि बढेको बताए । ग्रासरुटको विचार र सहभागीतालाई सुनिश्चित गरेर आर्थिक सामाजिक रुपान्तरणमा यस्ता अभियानले सार्थकता पाउने भन्दै यसपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा संचालन गर्ने तयारी समेत रहेको जानकारी दिए ।

उनका अनुसार नेपालको शिक्षा प्रणाली सुधारका लागि सिमान्तकृत समुदाय र अन्य सरोकारवालाको सहभागीतामा विभिन्न तहमा छलफल, अन्तरकृया र बहस पश्चात प्राप्त निष्कर्ष सहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी छ ।

शिखर सम्मेलन कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान शिक्षा प्रणाली समायानुकुल नभएको बताएका थिए । उनीहरुले किताबहरुमा दिईएका तथ्याङ्कहरु अपडेट नभएका, अस्पष्ट, विद्यार्थीको स्तरसंग मेल नखाएको, शब्द छनोटमा त्रुटिलगायतका समस्या भेटिएको समूह कार्य मार्फत औल्याएका थिए । पढेर देशमै केही गर्ने युवा उत्पादनका लागी शिक्षामा आमूल परिवर्तन गर्न आवश्यक रहेको उनीहरुको भनाई छ । उनीहरुले त्यसका लागी वर्तमान शिक्षा प्रणाली सिप सहितको शिक्षामा केन्द्रित हुनुपर्ने बताए ।

बुद्धभूमि नगरपालिका ४ का वडाध्यक्ष शुशिल कुमार चौधरीको अध्यक्षमा सम्पन्न उक्त सम्मेलनमा बुद्धभूमि नगरपालिका ३ का वडाध्यक्ष गोविन्द प्रसाद आचार्य, वडा नम्बर ५ का वडाध्यक्ष रोमबहादुर थापा क्षेत्री, वडा नम्बर ७ का वडाध्यक्ष शालिकराम यादव, वडा नम्बर ९ का वडाध्यक्ष प्रमोद आचार्य लगायतका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको आ आफनो विचार राखेका थिए । सोही अवसरमा सहभागीहरुले शपथ पत्रमा हस्ताक्षर गर्दै शैक्षिक रुपान्तरणको लागि प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८० शनिबार ००:००  १ : १७ बजे