४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कपिलवस्तु- २ ले पायो संघीय मन्त्री, सुरेन्द्रराज आचार्य मन्त्रीमा नियुक्त



काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यलाई मन्त्रीमा नियुक्त गरेका छन्।

प्रधानमन्त्रीले आइतवार आचार्यलाई मन्त्रीमा नियुक्त गरेका हुन्।

मन्त्रीमा नियुक्त आचार्यले राष्ट्रपतिको कार्यालय शीतल निवास आइतवार मध्यान्ह शपथ लिएका छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाए।

त्यसक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित उच्च पदस्थ सरकारी अधिकारी उपस्थित थिए।

कपिलवस्तु क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित उनी नेपाली कांग्रेसमा डा. शेखर कोइराला पक्षका सांसद मानिन्छन्।

आचार्यलाई प्रधानमन्त्री प्रचण्डले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिँदै छन्।

गत चैत १७ गते नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका थिए। उनको मन्त्रालय एक महिना नबित्दै हेरफेर भएको छ।

यादवलाई अब महिला मन्त्रालयबाट सरुवा गरेर खानेपानी मन्त्रालय जिम्मेवारी दिइने भएको छ। यादव डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका अध्यक्ष पनि हुन्।

यससँगै प्रचण्डले मन्त्रिपरिषद् दसौँ पटक विस्तार गरेका छन्। यसअघि नवौँ पटक विस्तार हुँदा यही वैशाख २१ गते तीनजना कांग्रेस सांसदहरू मन्त्री बनेका थिए।

धनराज गुरुङले कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतले स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूले युवा तथा खेलकुद मन्त्रालय सम्हालेका थिए।

त्यसअघि वैशाख ३ गते कांग्रेसबाट सांसद एनपी साउदले परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेका थिए।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई उपप्रधान तथा रक्षामन्त्री बनाउँदै उनको नेतृत्वमा गत चैत १७ गते सरकारमा सहभागी भएको हो।

कांग्रेसबाटै अर्थमन्त्रीमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, सहरी विकासमन्त्रीमा सीता गुरुङ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा रमेश रिजाल छन्।

प्रकाशित मिति : २५ बैशाख २०८० सोमबार ००:००  ८ : १९ बजे