१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

सुरक्षाको उपाय अपनाएर मात्र आगो निभाउन विज्ञको सुझाव



काठमाडौं ।
गर्मी बढ्न थालेसँगै देशभर आगलागी र डढेलोका घटना पनि बढेका छन् ।

आगो तथा डढेलो लागेको देख्ने बित्तिकै पूर्वतयारीबिना नै निभाउन जाँदा घाइते हुने तथा ज्यानै जाने जोखिम उच्च हुन्छ ।

आगो वा डढेलो लागेको अवस्थामा निभाउन जाँदा सुरक्षाका उपाय अपनाउन विज्ञको आग्रह छ ।

सुरक्षाको उपायबिना डढेलो लागेको ठाउँमा जान नहुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्मा बताउनुहुन्छ ।

उद्धारविज्ञका अनुसार डढेलो लागिरहेका बेला निभाउन जानेले हावाको बहावलाई मुख्य ध्यान दिन सके मात्रै पनि जोखिम कम हुन्छ ।

अग्नि नियन्त्रकसमेत रहेका सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव उपरीक्षक ९डीएसपी० सञ्जय अधिकारीका अनुसार हावाको बहाव जुन दिशातर्फ छ त्यसैतर्फबाट निभाउन जुट्नुपर्छ ।

हावाको बहाव विपरीत जाने, जंगलको तल डढेलो लागेको छ भने माथिबाट निभाउन नहुने डीएसपी अधिकारी बताउनुहुन्छ ।

दिउँसो घाम चर्केका बेला डढेलो तथा आगो थप फैलने हुँदा सकेसम्म आफू सुरक्षित हुनेतर्फ नै ध्यान दिन उहाँको सुझाव छ ।

घरमा आगलागी भएको छ भने त्यसबेला निभाउन खटिनेले आगोको जोखिमसँगै अन्य बस्तु, घरको छत, गारो, पर्खाल खसेर हुनसक्ने क्षतितर्फ पनि ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

घर तथा भवन साँघुरो छ भने आगलागीका बेला अक्सिजन नै नपाएर पनि उद्धारकर्ताको ज्यान जोखिम हुन सक्छ ।

डढेलो तथा आगलागी नियन्त्रणमा खटिनेले सकेसम्म आगो र तातोले तत्काल नटिप्ने खालका कपडा, जुत्ताचप्पल लगाउन विज्ञको सुझाव छ ।

उद्धारकर्ताले आफूसँग आगो निभाउने अरु सामग्री छन् कि छैनन् भनेर पनि ध्यान दिनुपर्छ ।

डीएसपी अधिकारीका अनुसार धेरैजसो अवस्थामा आगो पानीले नै निभाउन सकिन्छ तर कतिपय अवस्थामा पानीले मात्रै पनि आगो निभ्दैन त्यसबेला अरु उपकरणको तत्काल खोजी र व्यवस्थापन गर्नुपर्ने हुन सक्छ ।

गाउँघरमा उपलब्ध सामग्री तथा फायर पम्प प्रयोग गर्न सकिन्छ । जंगलमा लागेको डढेलो निभाउन पानीसँगै हरियो स्याउला, माटोको पनि प्रयोग गर्न सकिन्छ ।

हिजो र अस्ति आगो निभाउने क्रममा अर्घाखाँची र दैलेखमा गरेर पाँच जनाको ज्यान गएको छ ।

आगोले जलेर एकै गाउँका चार जनाको ज्यान गएपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबाङको सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।

अस्ति आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा ज्यान गएपछि सिङ्गो तिरतिरे गाउँ नै शोकमा डुबेको हो ।

आगलागीमा परेर घाइते भएकी २६ वर्षीय अस्मिता बेल्वासेको पाल्पाको मिसन अस्पतालमा उपचार भैरहेको छ ।

यस्तै दैलेखमा डढेलोमा परेर घाइते भएका १० जनामध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।

नेपालगञ्जको भेरी अस्पताल पठाएका घाइतेमध्ये एक जनाको ज्यान गएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ७ जनाको नेपालगञ्जमा उपचार भैरहेको र २ जना सामान्य घाइते प्राथमिक उपचारपछि घर फर्किएका छन् ।

आठबीस नगरपालिका वडा नम्बर–६ सिगासैनमा गोरेटो बाटो खन्ने काम गरिरहेका कामदारहरु घाइते भएका थिए ।

बाटो खन्दै गर्दा जंगल तलबाट आएको डढेलोले उनीहरु जलेका हुन् । गम्भीर घाइतेलाई हिजो हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको थियो ।

नेपालगञ्जमा ७ जनाको उपचार भैरहेको छ । बितेका २७ दिनमा देशभर आगलागीका चार सय २५ वटा घटना भएका राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ ।

यी घटनामा ८ जनाले ज्यान गुमाएका छन् भने ४५ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८० बिहिबार ००:००  ११ : २५ बजे