१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

तौलिहवाको कृषि बैंकबाट महिता जाने बाटो निर्माण फेरि रोकियो



कपिलवस्तु ।
कपिलवस्तुको तौलिहवाको कृषि बैंकदेखि महितासम्मको बाटो निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ। बिल अनुसारको भुक्तानी नपाएको र रातो किताबमा समेत कामबारे उल्लेख नभएको भन्दै निर्माण कम्पनीले फेरि काम रोकेपछि सो सडक निर्माण कार्य अलपत्र परेको हो।

कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलसहितको टोली तत्कालिन शहरी विकास मन्त्री मेटमणि चौधरीसमक्ष डेलिगेसन गएपछि गत माघदेखि काम सुरु भएको थियो। निर्माण कम्पनीले नाली बनाउने, बेस बनाउने लगायतका केही कामसमेत सम्पन्न गरेको छ।

लुम्बिनी आशिष सन्तोषी जेभीका इन्जिनियर सुजन पन्तले कामअनुसारको भुक्तानी नपाइएको र कामबारे रातो किताबमा समेत उल्लेख नभएकाले काम रोक्न बाध्य भएको बताए। दुई सातादेखि काम रोकिएको हो।

इन्जिनियर पन्तले कामको भुक्तानी नपाउँदा आर्थिक संकटले गर्दा काम अघि बढाउन नसकिएको बताए। निर्माण कार्य रोकिँदा यात्रुलाई हिँडडुल गर्नसमेत समस्या परेको छ। बाटोमा ठूलाठूला खाल्टाखुल्टी छन्। सामान्य वर्षा हुँदा बाटोमा पानी जम्छ। घाम लागेका बेला धुलोले गर्दा सो बाटो हिँड्नै मुस्किल पर्छ। सो बाटोमा १२ देखि २० चक्केसम्म ट्रक र टिपर चल्ने गरेकाले बाटो ध्वस्त बनेको छ।

कपिलवस्तुको तौलिहवास्थित जीर्ण एवं अलपत्र अवस्थामा रहेको कृषि बैंकदेखि महितासम्मको बाटो तत्कालै निर्माण गर्नुपर्ने कपिलवस्तु नगरपालिका ३ का अध्यक्ष प्रकाश गैरेले माग गरेका छन्। कृषि बैंकदेखि महितासम्मको १४ सय मिटर लामो बाटो जीर्ण बन्दा यात्रुलाई हिँड्न निकै कठिनाइ भएको भन्दै वडाध्यक्ष गैरले सो बाटो तत्कालै निर्माण गरिनुपर्ने माग गरेका हुन्।

सडकको दायाँबायाँ गरी २० मिटर चौडा रहने सो बाटो जीर्ण हुँदा हिँड्नै मुस्किल हुने उनले बताए। ‘बाटो निर्माण अलपत्र हुँदा सो सडकको ठाउँठाउँमा ठूलाठूला खाल्टाखुल्टी बनेको छन्, दुर्घटनासमेत बढेको छ तर सम्बन्धित निकायले यसमा कुनै ध्यान दिएको छैन’, उनले भने, ‘पटकपटक ध्यानाकर्षण गराउँदासमेत कुनै सुनुवाइ भएको छैन’, उनले भने।

केही काम गरिएपछि काम रोकिँदा जनतामा समेत आक्रोश बढेको उनले बताए। उनले अब सो बाटो निर्माणका लागि आफू अनसन बस्ने बताए। त्यही बाटोअन्तर्गत सडकछेउमा घर भएका तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले अलपत्र बाटो निर्माणमा कसैले ध्यान नदिएको गुनासो गरे। ‘बाटो ध्वस्त बनेको छ। अलपत्र अवस्थामा छाडिएको छ’, उनले भने। संघ, प्रदेश र स्थानीय पालिकाले समेत सो बाटो निर्माणमा चासो नदिएको उनको आरोप छ।

संघीय आयोजना कार्यान्वयन एकाइ भैरहवाले हेर्ने सो सडक निर्माण कार्य अलपत्र अवस्थमा भएको उनले बताए। २० मिटर चौडा सडकका दायाँबायाँ साढे सात मिटरको अक्सफाल्ड कंक्रिट प्रविधिले पक्की सडक बन्ने योजना छ। बीचमा मेडियन र सडकको दुवै किनारमा नाला र फुटपाथसमेत रहने गरी सडक निर्माण योजना रहेको कपिलवस्तु नगरपालिकाका इन्जिनियर राजेश सैनीले बताए। कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल आफूले सो सडक चाँडै निर्माण गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराएको बताए।

प्रकाशित मिति : १ जेष्ठ २०८० सोमबार ००:००  ११ : ४५ बजे