७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

माधव नेपाल भन्छन्- कांग्रेस-कम्युनिस्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको छ



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् । बुधवार मदन—आश्रित स्मृति दिवसलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालमा कांग्रेस-कम्युनिस्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको बताए ।

उनले सरकारमा रहेकाहरूमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको उल्लेख गरे । नेपालको राजनीतिलाई भ्रष्टीकरणबाट जोगाउन ठूलो चुनौती रहेको उनको भनाइ छ । ‘नेपाल भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । कम्युनिष्ट-कांग्रेसबीच भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिस्पर्धा भइरहेको छ,’ उनले भने, ‘त्यहाँ एउटै दर्शन छ पैसा कमाउँ, जनतालाई लुट । त्यसैले नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउने रु कम्युनिष्ट आन्दोलनलाई कसरी भ्रष्टीकरणबाट जोगाउने रु यो ठूलो चुनौती हाम्रो सामु विद्यमान छ ।’

उनले नेकपा एमालेले जबजबाट विचलित भएको आरोप लगाए । ‘अहिले पनि जबजको औचित्य समाप्त भएको छैन । पार्टीहरूको लोकतान्त्रिककरण गर्नुपर्ने आवश्यक्ता अझै छ,’ उनले भने, ‘त्यसको जीवन्त उदाहरण नेकपा एमाले छ । नेकपा एमालेभित्र रहेको अलोकतान्त्रिक, नेताभन्दा नीति प्रधान भन्ने मान्यतामा छ । त्यो पार्टी जनताको बहुदलीय जनवादबाट विचलित भइसकेको छ । मदन भण्डारीको विचारबाट विचलित भएको छ ।’

प्रकाशित मिति : ३ जेष्ठ २०८० बुधबार ००:००  २ : ३८ बजे