१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मेयरको निगरानी : खोलामा अवैध उत्खनन गर्नेलाई कारबाही



कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकाले खोलामा अवैध उत्खनन भएको जनगुनासो बढेपछि छड्के अनुगमन गरेको छ । आइतबार नगरप्रमुख अजय थापासहितको टोलीले बिहान करिब ९ बजेतिर वडा नम्बर ९ रमुवादहस्थित भक्रम खोलामा अनुगमनका क्रममा लु १ क ३३५३ नम्बर र लु १ क ४७७८ को जेसिबीले अवैधरुपमा बालुवा उत्खनन गरेको अवस्थामा पाइएको नगर प्रमुख थापाले बताए ।
उक्त खोलाबाट ढुंगा, गिट्टीको चोरी निकासीसहितको अवैध उत्खनन भएको जनगुनासो पछि नगरप्रमुख थापाले छड्के अनुगमन गरेका हुन् । नगरपालिकाले गत मंसिर महिना खोलाबाट ढुंगा, गिट्टी र बालुवा लगायत नदीजन्य पदार्थको निकासी खुला गरेको थियो । खोलाबाट हुने ढुंगा र गिट्टीको अवैध चोरी निकासी भए नभएबारे बुझ्न अनुगमन गरिएको नगर प्रमुख थापाको भनाइ छ ।
भक्रम खोलाबाट ढुंगा, गिट्टी बोक्ने ट्रयाक्टर एवं टिप्परले राजस्व तिरे नतिरेको, खोलाको गहिराइ र मापदण्डनुसार उत्खनन भए नभएबारे अनुगमन गरिएको उनले बताए । नगर प्रमुख थापाका अनुसार मापदण्ड विपरीत उत्खनन गरेकालाई कानुन अनुसार कार्वाहीको प्रक्रिया अगाडि बढाइने छ । २०७९ महिना मंसिर महिनाको २७ गते पालिकाले सूचना प्रकाशित गरेको थियो । जसमा २५ लाख ५१ हजार १५१ मा मुल्य अभिवृद्धि कर सहित ठेक्का लगाएको हो ।
खोलाबाट ८ हजार पचारी घनमिटर नदीजन्य पदार्थ बिक्री गर्न अनुमति सहित श्री राधा रोशन निर्माण सेवाका सञ्चालक रोशन बहादुर महतरा क्षेत्रीबीच ठेक्का पाएको नगरपालिकाले जनाएको छ । यता ठेकेदार पक्षले नगरको मापदण्डअनुसार नै कार्य भइरहेको दावी गरेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८० सोमबार ००:००  ३ : ५४ बजे