१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कृषिमन्त्री भुसालको पहलमा बाणगंगामा ‘माछा अनुसन्धान केन्द्र’ बन्दै, अगाडि बढ्यो प्रक्रिया



कपिलवस्तु ।
कपिलवस्तुमा माछा अनुसन्धान केन्द्र निर्माण हुने भएको छ । राष्ट्रिय कृषि अनुसन्धान केन्द्र ‘नार्क’ को हालै बसेको ६३ औं परिषद बैठकले जिल्लाको बाणगंगा नगरपालिका वडा नं ८ मा माछा अनुसन्धान केन्द्र बनाउने निर्णय गरेको हो ।

डा. बेदुराम भुसालले आफू कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै जिल्लामा नार्कको कार्यालय स्थापनाका लागि पहल थाल्नु भएको थियो ।

यसका लागि बैशाख अन्तिम हप्ता कृषिमन्त्री भुसाल जिल्लामा स्थलगत अनुगमन गरेका थिए ।

जिल्लाका विभिन्न स्थानको अवलोकन पश्चात बाणगंगा ८ को जग्गा उपयुक्त देखिएपछि त्यहाँ माछा अनुसन्धान केन्द्र बन्ने भएको हो ।

नार्कको अध्यक्ष समेत रहेका मन्त्री भुसालले ६३ औं परिषद् बैठकमा माछा अनुसन्धान केन्द्र स्थापनाको एजेण्डा लगेका थिए । परिषद बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत पारित गर्दै यसको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

नेपालको तराई क्षेत्रमा समग्र ८० प्रतिशत माछा उत्पादन हुँदै आएको छ। तर माछा सम्बन्धी अनुसन्धान केन्द्र नभएको अवस्थामा पहिलो पटक नार्कले छुट्टै कार्यालय स्थापना गर्न लागेको हो ।

नार्कका लागि बाणगंगा नगरपालिकाले २५ विगाह जग्गा उपलब्ध गराउने छ । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले माछा अनुसन्धान केन्द्र स्थापनाका लागि नगर कार्यापालिकाबाट जग्गा उपलब्ध गराउने गरी पहल थालिसकेका छन् ।

२०४६ सालदेखि हालसम्म मुलुकमा कुनै नार्कको कार्यालय स्थापना हुन नसकेको कृषि मन्त्रीको सचिवालय बताउँछ । यो कामको थालनी जिल्लाकै लागि निकै गौरवको विषय रहेको सचिवालय बताउँछ ।

नार्कका बैज्ञानिक सम्मिलित एक टोलीले जग्गाको प्रारम्भिक निरीक्षण गरिसकेको छ । अब जग्गा प्राप्ति लगायतका बाँकी काम अगाडि बढाउने गरी काम भइरहेको नार्कले जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८० बिहिबार ००:००  १० : ११ बजे