७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय



काठमाडौं ।
सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

गणतन्त्र दिवसका अवसरमा चौधरीको बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गरिएको मन्त्री शर्माको भनाई छ । चौधरीसँग अन्य केहीको बाँकी सजाय र केहीको सजाय माफी गर्ने निर्णय भएको उहाँको भनाई छ ।

चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे उनी सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् ।यसअघि जेठ १२ गते राष्ट्रपति पौडेलले आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाउनुभएको थियो ।यस्तै,सरकारले राष्ट्रिय योजना आयोगको रिक्त महिला सदस्य पदमा लमजुङ निवासी अनिता दुलाललाई नियुक्त गरेको छ ।

त्यसैगरी बैठकले क्यानडामा २०८० भदौ ५ गतेदेखि ९ गतेसम्म आयोजना हुने विश्व वातवारण सुविधाको ७ औं सभा तथा सम्बन्धित बैठकहरुमा अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन स्वीकृति प्रदान गर्ने, सिन्धुलीमाडी–भूमेस्थान–चकमके–उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले मध्य तमोर जलविद्युत आयोजनाको प्रशारण लाइनको निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो जग्गामा रहेका रुखहरु हटाउन स्वीकृति दिने निर्णय गरेको छ । बैठकले लंखुवाखोला साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरु निर्माण गर्न संखुवासभा जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो वन क्षेत्रमा रहेका रुख हटाउने स्वीकृति दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताउनु भयो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८० आइतबार ००:००  १ : ४० बजे