१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपति पौडेलको चौतर्फी आलोचना



काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा अस्वीकृत भएको उक्त नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपति पौडेलको चौतर्फी आलोचना सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको पूर्व सन्ध्यामा राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुलाई विशेष रुपमासमेत हेरिएको छ । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलको उक्त कदमलाई लिएर नागरिकता अध्ययन कार्यदलले घोर आपत्ति जनाएको छ ।

रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै नागरिकता अध्ययन कार्यदलले प्रधानमन्त्री र राष्ट्रपति पौडेलको उक्त कदमविरुद्ध सर्वोच्चको ढोका ढक्ढक्याउने चेतावनी दिएका छन् । साथै, उनीहरूले नागरिकता विधेयकको विरुद्ध कडा आन्दोलन छेड्ने चेतावनीसमेत दिएका छन् ।

विदेशीलाई नागरिकता दिएर नेपालीलाई अल्पमतमा पार्ने, नेपाली सभ्यता, पहिचान र संस्कृति समाप्त पार्ने, सदियौँदेखि रहेको सद्भाव र सहिष्णुतालाई खलल पार्ने र मुलुकमा द्वन्द्व सिर्जना गर्ने प्रवृत्तिबाट नागरिकताजस्तो विषयमा चलखेल भएको कार्यदलको ठहर छ । नागरिकता विधेयक प्रमाणीकरण हुनु राष्ट्रघाती कदम भएको भन्दै नागरिकता अध्ययन कार्यदलले सबै नागरिकलाई संघर्षमा उत्रिनसमेत अपिल गरेको छ ।

‘प्रधानमन्त्रीले मन्त्रीपरिषद्बाट निर्णय गरी निवर्तमान राष्ट्रपतिबाट प्रमाणीकरण नगरी स्वतः निष्क्रिय हुन पुगेको नागरिकता विधेयक वर्तमान संसद्बाट निर्वाचित राष्ट्रपति र संसद् चलिरहेको अवस्थामा निष्क्रिय भएको विधेयक प्रमाणीकरण गरेकोले यो गम्भीर राष्ट्रघातविरुद्ध सम्पूर्ण देशभक्त नेपाली जनतालाई संघर्षमा आउन अपिल गर्दछौँ,’– नागरिकता अध्ययन कार्यदलका संयोजक साध्यबहादुर भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक भण्डारीले देश आजैबाट फिजीकरणको बाटोमा लागेको टिप्पणी गरे । ‘देश आजैदेखि फिजी भयो । महेन्द्र चौधरीहरू तयार भएर बसे दिल्लीमा । आजैदेखि हामी अल्पमतको प्रक्रियामा गयौँ,’– उनले भने ।

कार्यदलका सहसंयोजक नारायण शर्माले देश अहिले निकै अप्ठ्यारो परिस्थितिमा रहेको बताए । देशको अस्तित्व लोप हुँदै गएको र फिजीकरणको बाटोमा रहेको अवस्थामा खबरदारीका लागि निस्कन उनले आग्रह गरे ।

‘आज देश धेरै अप्ठ्यारो स्थितिमा छ । दुखको कुरा देशको अस्तित्व लोप हुँदै गरेको, देश फिजीकरण, सिक्किमीकरण हुँदै गरेको अवस्थामा हामी खबरदारी गर्न सडकमा निस्कन सकेको अवस्था छैन । निर्णायक आन्दोलनको बीजारोपण यही सम्मेलनमार्फत हुन गइरहेको छ,’– शर्माले भने ।

त्यसै गरी, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नागरिकता विधेयकलाई ‘संविधानमाथि गरिएको कू’ को संज्ञा दिएका छन् । ‘आज राष्ट्रपति रामचन्द्र पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण भएको छ । यस कार्यको हामी घोर भर्त्सना गर्न चाहन्छौँ । मैले यस कार्यलाई ‘संविधानमाथि गरिएको कु’ को रूपमा बुझेको छु,’– भण्डारीले भने ।

‘राष्ट्रपतिज्यूले संविधान र कानुनकोमात्रै कुठाराघात गर्नु भएन, मुलुकलाई नै लज्जित बनाउने काम गर्नु भएको छ । त्यसैले वर्तमान सरकार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको यो कार्यलाई मैले संवैधानिक ‘कु’ को रूपमा चित्रण गरेको छु,’– अधिवक्ता भण्डारीले भने ।

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा आफ्नो उपचार गराएर आएपछि सार्वजनिक रूपमा अब म नागरिकता विधेयक प्रमाणीकरण गर्न सक्ने भएँ भनेर अभिव्यक्ति दिएको उनले दाबी गरे ।

संविधानविद् एवं अधिवक्ता स्वागत नेपाल राष्ट्रपति पौडेलले राम नामकै बदनाम गरेको टिप्पणी गरे । नेपालीले अब जन्मने सन्तानको नाम रामचन्द्र राख्दासमेत सोच्नुपर्ने बेला आएको उनको भनाई छ ।

‘मान्छे मर्दा वियोगमा सम्झने राम राम कस्तो मर्न नसकेको मान्छेका नाम पर्न गएछ रामचन्द्र रु यो भन्दा अर्को नाम अब नेपालीहरूले कसरी आफ्नो सन्तानको नाम रामचन्द्र राख्न सक्छन् होला रु इराक युद्धपछि ९८ प्रतिशत दम्पतीले आफ्ना सन्तानको नाम सद्दाम हुसेन राखेका थिए रे । अमेरिकासँग लड्न सक्ने तागत भएको,’– उनले भने ।

अर्का वक्ता वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले आज इतिहासकै कालो दिवस भएको टिप्पणी गरे । राष्ट्रपति पौडेलले संविधान र कानुनमा उल्लेख नै नभएको अधिकार प्रयोग गरेको उनको दाबी छ ।

‘आज नेपालको राष्ट्रियताको इतिहासमा कालो दिवस हो । संविधानमा १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नुपर्ने हुन्छ । १६ दिनका दिन गर्न पाइँदैन । रामचन्द्र पौडेलले ०७९ सालमा विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न इन्कार गरेको विधेयकमा लालमोहर लगाउनु भयो । कहाँ छ त्यस्तो व्यवस्था ?,’– उनले प्रश्न गरे ।

भारतले प्रधानमन्त्री प्रचण्डलाई रेशम चौधरी छुटाएर र नागरिकता विधेयक प्रमाणीकरण गरेर आउनका लागि भनेको उनको आरोप छ ।

जनसमाजवादी पार्टीका महासचिव डम्बर विक्रम कार्कीले राष्ट्रपति पौडेलबाट राष्ट्रियता हराएको बताए । राष्ट्रपति पौडेल दास भइरहेको उनको टिप्पणी गरे । दास मानसिकता भएकालाई राष्ट्रपति मानेर बस्न आफूहरू विवश रहेको उनले बताए । राष्ट्रपतिको यो कदमविरुद्ध बुताले भ्याएसम्म लडाइँ लड्ने उनले घोषणा गरे । नयाँ दलहरूले राष्ट्रपति पौडेलको यो कदमको विरोध गर्न नसक्ने भए कालो कपडाले मुख छोपेर हिँड्नसमेत आग्रह गरे ।

प्रकाशित मिति : १७ जेष्ठ २०८० बुधबार ००:००  ९ : ३४ बजे