४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

दुना टपरीमा आत्मनिर्भर बन्ने योजनामा छत्रकोट गाउँपालिका



गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकाले सञ्चालन गरेको लघु उद्यम कार्यक्रमबाट स्थानीय महिलाहरू निकै खुसी बनेका छन् । गाउँपालिकाले स्थानीय महिलाहरूलाई आयआर्जनमा सहयोग पुराउने उद्देश्यले लघु उद्यम तालिम दिएपछि उनीहरूमा थप आत्मबल बढेको हो ।

पालिकाले महिलाहरूलाई स्थानीयस्तरमै उपलब्ध स्रोत साधनबाट दुना टपरी, मुढा, खादालगायतका सामग्री उत्पादन गर्ने सीप सिकाएपछि पालिका यी सामग्रीमा आत्मनिर्भर बन्ने योजनामा छ । उत्पादित सामग्रीको प्रवर्धनका लागि आउँदा दिनमा छत्रकोटभित्र रहेका सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाले प्लास्टिकका दुना टपरीको प्रयोग नगर्ने भएका गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले बताउनुभयो ।

गाउँपालिकाले लघु उद्यम कार्यक्रमअन्तर्गत विभिन्न वडाका महिलाहरूलाई तालिम दिई उनीहरूबाट उत्पादित सामग्रीहरूलाई प्रवर्धन गर्न पहिले पालिका भित्रैबाट अभियान सुरु गर्ने प्रतिबद्धता गरेको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताउनुभयो । ‘अब कार्यालयमा प्लास्टिकको सामग्रीलाई विस्थापित गरी यहाँ उत्पादित सामग्रीको प्रयोग गर्न सुरु गरेका छौँ, बिस्तारै पालिकाभित्र पूर्णरूपमा यो अभियान सञ्चालन गर्ने योजनामा छौँ’, प्रमुख प्रशासकीय अधिकृत पुनले भन्नुभयो ।

छत्रकोट गाउँपालिकाले सालको पातबाट निर्मित दुना टपरी, बाँसबाट बनेको मुढा, ढाकाको खादालगायतका सामग्रीको व्यावसायिक उत्पादन गर्न थालेको छ । छत्रकोट–१ हुँगाका १२ जना महिलाले व्यावसायिकरूपमा दुना टपरी उत्पादन गर्न सुरु गरेका वडाध्यक्ष घनश्याम न्यौपानेले बताउनुभयो । काम गर्ने जोस र जाँगर भएमा कोही पनि पछाडि पर्नु नपर्ने भन्दै उहाँले हुँगामा टपरी खुट्ने ९बनाउने० मेशिनको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।

पालिकाले महिलाहरूले उत्पादन गरेको सालको पातको थालीलाई एक सय थानलाई तीन सय, साना दुनाको प्रति गोटा एक, र बोहोताको प्रति गोटा एक रुपैयाँ पचास पैसा निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८० बुधबार ००:००  ७ : १४ बजे