४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

गुल्मीको रेसुङ्‍गा विमानस्थलबाट सातामा दुई उडान हुने



गुल्मी ।
गुल्मीको रेसुङ्‍गा विमानस्थलबाट सातामा दुई दिन उडान हुने भएको छ । सो विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजलले हप्ताको एक दिन शुक्रबार मात्रै उडान गर्दै आएको थियो ।

जिल्लाबाट नियमित हवाई सेवा सुरु भइरहँदा यात्रुको निकै चाप बढेको छ । १८ सिटे क्षमताको जहाज भएपनि यहाँबाट ६० देखि ७० जना सम्मका यात्रुले सिटको माग गरेको थिए ।

त्यसैलाई मध्य नजर राखेर नेपाल एयरलाइन्सको जहाजले हप्ताको एक दिन थपेर बुधबार उडान हुने भएको रेसुङ्‍गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । अब रेसुङ्‍गा विमानस्थलबाट बुधबार र शुक्राबार दुई दिन उडान हुनेछ ।

रेसुङ्‍गा विमानस्थलबाट काठमाडौंसम्मको भाडा प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ लाग्नेछ । त्यस्तै काठमाडौंबाट रेसुङ्‍गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

काठमाडौंबाट रेसुङ्‍गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने र बिहान ७ बजेर ४५ मिनेटमा रेसुङ्‍गा विमानस्थलबाट काठमाडौं फर्किने समय तालिका रहेको छ । काठमाडौंबाट रेसुङ्‍गा विमानस्थलसम्मको दुरी ५० मिनेटको रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८० बुधबार ००:००  ७ : १८ बजे