२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

समाजवादी मोर्चामा समावेश हुने नेकपा एकीकृत समाजवादीको निर्णय



काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीले चाँडै घोषणा हुन लागेको समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको सो पार्टीको सचिवालय बैठकले मोर्चामा सहभागी हुने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले मोर्चा आजै घोषणा हुने भनिए पनि दलहरूका आ–आफ्ना तयारी बाँकी नै रहेकाले अझै केही दिन लाग्न सक्ने ब्रिफिङ गरेका थिए ।

‘आज हाम्रो पार्टीको सचिवालय बैठकमा समाजवादी मोर्चाका विभिन्न पक्षबारे छलफल भयो, हामीले मोर्चाका लागि लामो समयदेखि तयारी गरेका थियौ’, प्रवक्ता खतिवडाले भने, ‘त्यसैले समाजवादी मोर्चामा सहभागी हुन निर्णय भयो ।’

नेकपा एकीकृत समाजवादीले आफ्नो तर्फबाट सबै तयारी भए पनि केही पार्टीहरूमा तयारी नपुगेकाले मोर्चा घोषणामा केही ढिलाइ हुन पुगेको बताए । ‘मोर्चामा सहभागी हुने सबै पार्टीको आन्तरिक तयारी र बैठक पुरा नभएकाले आज हुन नसक्ने तर अत्यन्तै चाँडै घोषणा गर्न सक्ने अवस्था छ’, खतिवडाले भने, ‘पार्टी नै एकीकरणका लागि यो मोर्चा बन्ने होइन ।’ उनले मोर्चाका संरचना जिल्ला र प्रदेशमा समेत बनाउन सकिने सैद्धान्तिक सहमति दलहरुबीच भएको बताए । ‘ लेफ्ट फ्रन्ट बनाउन सहयोगी हुनेछ’, खतिवडाको भनाइ छ ।

नेकपा एकीकृत समाजवादीसहित माओवादी केन्द्र, जसपा, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई समेत मोर्चामा सहभागी गराउने तयारी छ ।

प्रकाशित मिति : १ असार २०८० शुक्रबार ००:००  १ : ०२ बजे