काठमाडौँ ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश विकासका लागी पार्टी र नेताहरू सच्चिनै पर्ने बताएका छन् ।
राजनीतिक पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव नभएको भन्दै उनले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताए।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरूले आफ्नो कार्यभार निभाउनुपर्ने बताए।
गृहमन्त्री श्रेष्ठले देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरुले नै आफूलाई सच्याउन जरुरी रहेको उल्लेख गरे। राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरू रूपान्तरण गरेर सामाजिक, आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पार्नु आवश्यक रहेको बताए।
उनले भने, ‘हामीले अपेक्षा गरेअनुसार समृद्धि आएको छैन। जनतामा सन्तुष्टि देखिएको छैन, अहिलेको हाम्रो मुख्य कार्यभार देशको विकास गर्नु हो। तर, हामीले भनेजस्तो रूपमा कार्यभार निभाउन सकेका छैनौँ। त्यो कहाँ कमजोरी भएको छ, त्यसलाई गम्भीरताका साथ लिएर हामी अघि बढ्नुपर्छ। त्यसैले सबैभन्दा पहिला त राजनीतिक पार्टी र नेताहरुले नै आफूलाई सच्याउनु पर्छ।’
प्रतिक्रिया