४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मूल आम्दानीको स्रोत कृषिमै लगानी छैनः प्रभु साह



काठमाडौं ।
आमजनता पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य प्रभु साहले शिक्षित र पढेलेखेका मान्छेहरू कृषि पेसामा लाग्नै छाडेको बताएका छन् । उनले सरकारले बजेटमा कृषि क्षेत्र र किसानलाई सम्मान गर्ने कार्यक्रम नल्याएको बताए ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद साहले भने, ‘पहिले–पहिले कृषि पेसामा पैसा भएको मान्छे, पढेलेखेका मान्छेहरू पनि हुन्थे । तर अहिले पढेलेखेको मान्छेले कृषि कर्म गर्नै हुँदैन भनेजस्तो भएको छ । अहिले पढेलेखेका मान्छेहरू कृषिमा छैनन्, पैसा भएका मान्छेहरूको लगानी कृषिमा छैन । कृषि त मजबुरीको पेसा भएको छ । मान्छे बाध्य भएर मात्रै कृषि गरिरहेको छ ।’

उनले ६५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध भएको देशमा कृषि र किसानलक्षित ठोस कार्यक्रमबिनाको बजेट आउनु दुःखद भएको बताए । उनले प्रश्न गरे, ‘हामीले यदि कृषिमा युवाहरूलाई आकर्षित गर्न नसक्ने हो र किसानलाई सम्मान नगर्ने हो भने के हामीले चाहेको जस्तो नेपाल निर्माण कसरी सम्भव छ ?’

सांसद साहले किसानलाई पेन्सन दिने व्यवस्था गर्नुपर्ने माग गरे । ‘कृषि नै देशको मूल आम्दानीको स्रोत हो । अनि कृषि क्षेत्रमा लगानी भने छैन । किसानले बैंकबाट ऋण पाउँदैन, बिऊ पाउँदैन, मल पाउँदैन, बजार पनि पाउँदैन । नोक्सान हुँदा पनि किसानले त्यो पेसा छाड्न सकेको अवस्था छैन, राज्यले पनि उसलाई सहयोग र सम्मान नदिने हो भने उसले किन कृषि पेसा गरिरहने रु’ उनले भने, ‘सरकारले किसानलाई पेन्सन दिने व्यवस्था गरौँ ।’

प्रकाशित मिति : ६ असार २०८० बुधबार ००:००  ३ : ५६ बजे