१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वडा अध्यक्ष नियन्त्रणको विरोधमा बाणगंगा नगरको तेहौं नगरसभा स्थगित



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरपालिकाको आ.ब. २०८०।८१ को बजेट तथा कार्यक्रम प्रस्तुत गरे लगत्तै स्थगित भएको छ । नगर प्रमुख चक्रपाणी अर्यालले तेहौं नगर सभाको अध्यक्षता गरेलगत्तै नगर सभा शुरु भएको थियो । सभामा वाणगंगा नगरपालिकाकी उपप्रमुख रीता कुमारी चौधरीले बजेट प्रस्तुत गर्दागर्दै बिचैमा स्थगित भएको हो ।

बजेट तथा कार्यक्रम प्रस्तुत भइरहेको बेला सभाका सदस्य विष्णु प्रसाद पौडेलले समकक्षी वडाध्यक्ष विना कारण डिभिजन बन कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको विषयलाई आपत्ती जनाउदै सभा स्थगित गर्न माग गर्नुभयो । बाणगंगा १० का वडा अध्यक्ष तथा नगर सभा सदस्य यम प्रसाद पोखरेलाई विना कारण डिभिजन बन कार्यालय कपिलवस्तुले गैर कानुनी ढंगले नियन्त्रणमा लिएको विषय स्वीकार्य नहुने बताउँदै पौडेलले नगर सभा स्थगित गर्न माग गर्नुभयो ।

सभाका अध्यक्ष नगर प्रमुख चक्रपाणी अर्यालले नगर सभा सदस्यको माग बमोजिम नगरसभा संचालन कार्यविधि, २०७४ को दफा १९ वमोजिम अर्को सूचना जारी नभएसम्मका लागि वैठक स्थगित भएको जानकारी गराउनुभयो ।

बाणगंगा नगरपालिकाले आ.ब. २०८०।८१ को कुल १ अर्ब ५६ करोड ३२ लाख ९३ हजार बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

नगर उपप्रमुख रीता कुमारी चौधरीले बजेट कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने, उद्यमशिलता विकास र आयआर्जन, दिगो र वातावरण मैत्री पूर्वाधार विकास र विपद् व्यवस्थापन, गुणस्तरीय शिक्षा, स्वास्थ्य, सामाजिक विकास, सुशासन, सार्वजनिक सेवा प्रवाह र मानव संसाधन विकास जस्ता क्षेत्रमा मुख्य प्राथमिकता रहेको बताउनुभयो ।

प्रकाशित मिति : ९ असार २०८० शनिबार ००:००  २ : १३ बजे