४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

शीतगंगा १३ मा औद्योगिक ग्राम बनाउने सरकारको निर्णय, पूर्व उपमेयर रेश्मी भन्छन्, ‘खुसी छौँ’



मायादेवी अनलाइन, बाणगंगा ।
सरकारले अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नं. १३ मा औद्योगिक ग्राम बनाउने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देशभरका ७ वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न सहमति दिएको थियो । सोही अनुसार लुम्बिनीको शीतगंगा नगरपालिका पनि परेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका विभिन्न सात ठाउँमा औद्योगिक ग्राम बनाउने निर्णय भएको बताइन ।

उनले भनिन्, ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा देशका विभिन्न ठाउँका सात वटा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय भएको छ । प्रस्तावहरु आएका क्षेत्रहरु कालिकोटका केही नगरपालिका र गाउँपालिकाहरु छन् ।’

यता शीतगंगा नगरपालिकाका पूर्व नगर उप्रमुख टीका रेश्मीले शीतगंगा १३ मा औद्योगिक ग्राम बनाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेकोमा धन्यवाद प्रकट गरे ।

२०७६ सालमा एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम बनाउने नीति अनुसार शीतगंगाको १३ नं. वडामा औद्योगिक ग्राम बनाउने गरी जिल्लास्तरमा निर्णय भएको बताए ।

सोही अनुसार औद्योगिक ग्राम स्थापना हुने स्थान थाप्लेबारीको माटो समेत परिक्षण भएर काम अगाडि बढेको जनाए । तर बीचमा काम हुन नपाइरहेको बेला मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेकोमा यस क्षेत्रका नागरिक मात्र नभएर सिंगो जिल्ला खुसी भएको बताए ।

३५ रोपनी जग्गा रहेको उक्त स्थानमा औद्योगिक ग्राम स्थापनाका लागि आफूसँगै पूर्व नगर प्रमुख सूर्य प्रसाद अधिकारी, वडा नं. १३ का वडाध्यक्ष दुर्गा विसीको मुख्य पहल रहेको स्मरण गरे ।

यहाँ औद्योगिक ग्राम स्थापना पछि रोजगारीका अवसर सिर्जना हुने समेत उनले विश्वास दिलाए ।

प्रकाशित मिति : १३ असार २०८० बुधबार ००:००  १२ : ५७ बजे