५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

शिवराजमा शिक्षाको बजेट ८ करोड ३२



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा रु. ८ करोड ३२ लाख बराबरको बजेट शिक्षा क्षेत्रका लागि छुट्याइएको छ । आगामी आव ०८०/०८१ को लागि नगरको समग्र बजेटको ६ दशमलव ५ प्रतिशत शिक्षा क्षेत्रमा छुट्याइएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित भएका नगर प्रमुख अजय थापाले आफ्नो पहिलो निर्णय नै सार्वजनिक शिक्षालाई निःशुल्क गराउने गरी हस्ताक्षर गरेका थिए ।

गरिबका छोराछोरीलाई शिक्षामा सहज पहुँच र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षा निःशुल्क शिक्षाको अवधारणा ल्याएर अगाडी बढेका नगर प्रमुख थापा बजेट मार्फत निर्णय कार्यान्वयन गराउन सफल देखिएका छन् ।

शिवराजले १३ औ नगर सभाबाट आर्थिक वर्ष २०८०/०८१ मा ‘आर्थिक वृद्धि शिवराजको समृद्धि’ को दीर्घकालिन सोचका साथ रु. एक अर्ब २७ करोड ८५ लाखको अनुमानित आयव्यय प्रस्तुत गरेको छ ।

शिवराजले आगामी आवमा विद्यालय शिक्षालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा तथा निःशुल्क माध्यमिक शिक्षा कार्यन्वयनको लागि अनिवार्य तथा निःशुल्क शिक्षा ऐनसमेत जारी गरेको छ ।

सोही अनुसार नगरले यो पालि नीति तथा कार्यक्रमसमेत यसै अनुसार बनाएको छ ।

नगरपालिकाले विद्यालय तथा शिक्षकलाई पेशागत सहयोग प्रदान गर्नका लागि शिक्षा क्षेत्रमा १० वर्ष शिक्षण पेशा तथा शैक्षिक प्रशासन क्षेत्रमा अनुभव प्राप्त गरेका व्यक्तिहरुलाई श्रोत विज्ञको रुपमा सेवा करारमा राख्ने समेत नीति ल्याएको नगर प्रमुख थापाले बताए ।

प्रकाशित मिति : १३ असार २०८० बुधबार ००:००  ८ : ३० बजे