४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कछुवा गतिमा सालझण्डी-ढोरपाटन सडक निर्माण



काठमाडौं ।

पर्यटकीय स्थल लुम्बिनीलाई केन्द्रमा राखेर ढोरपाटनसमेतलाई जोड्ने उद्देश्यले निर्माण सुरु भएको सालझण्डी-ढोरपाटन सडक निर्माणको काम कछुवा गतिमा छ । २०६६ सालदेखि सुरु भएको सडक निर्माणको काम बजेट अभाव र ठेकेदारको लापरबाहीका कारण तीव्र गतिमा अघि बढ्न सकेको छैन ।

रुपन्देहीको सालझन्डीदेखि अर्घाखाँची हुँदै बागलुङको ढोरपाटन पुग्ने १ सय ९७ किलोमिटर सडकको कामले तीव्रता नपाउँदा स्थानीयहरू निराश बन्दै गइरहेका छन् । तीन जिल्लामा पर्ने सडक निर्माणको कामलाई तीन खण्डमा छुट्टाछुट्टै ठेक्का लगाएर काम सुरु भए पनि ठेकेदारहरूले विभिन्न बहाना बनाउँदै अटेरी गरेपछि अपेक्षाअनुसार प्रगति नभएको सालझण्डी-ढोरपाटन सडक परियोजना प्रमुख इन्जिनियर अन्जु परियारले बताइन् । उनका अनुसार लुम्बिनीबाट ढोरपाटन जोड्ने सडकको ट्र्याक खोल्ने काम पूरा भए पनि सडक पिचको काम बाँकी छ ।

आयोजनाका प्रमुख इन्जिनियर परियारले सोचे अनुसारको बजेट नहुँदा र ठेकेदारले अटेरी गर्दा काममा ढिलाइ भइरहेको बताइन् । ८ अर्बको डीपीआर भएको सडकमा प्रत्येक वर्ष ३५-४० करोड मात्रै बजेट विनियोजन गर्दा समस्या भइरहेको उनले बताइन् । गत वर्षसम्म जम्मा २ अर्ब ६५ करोड रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षमा ४० करोड बजेट सक्ने काम भएको छ ।

आगामी आर्थिक वर्षमा २०८०/८१ लागि सरकारले यो सडकखण्डका लागि १७ करोड रुपैयाँ विनियोजन गरेको छ । हालसम्म सडकको भौतिक प्रगति ३९ प्रतिशत रहेको सालझन्डी-ढोरपाटन सडक परियोजनाले जनाएको छ ।

यस्तो छ कामको प्रगति

कुल १९७ किलोमिटर सकड निर्माणका लागि सरकारले बहुवर्षे ठेक्का लगाएर तीन ठाउँमा काम सुरु गरेको छ । परियोजनाका सूचना अधिकारी इन्जिनियर सरोज आचार्यले पाल्पाको कन्चन खोलादेखि अर्घाखाँचीको खुसार्ने १३ किलोमिटर सडक २४ करोडमा पिच गर्न रमन जेभि ललितपुरसँग २०७७ साल पुसमा सम्झौता गरेको थियो ।

यस्तै, खुसार्नेदेखि मैदानसम्मका लागि फुदवाङ्ग पीके अर्घाखाँची जेभीले १ करोडमा ठेक्का लिएको छ । यसैगरी, बागलुङको बुर्तिवाङ फल्लेघर सडकखण्डका लागि २५ करोड रुपैयाँमा स्वछन्द कम्पनीले ठेक्का लिएको छ । स्वछन्दसँग २२ किलोमिटर सडक ग्राभेलको काम गर्ने सम्झौता भएको हो ।

सडक कार्यालयले सालझन्डी-ढोरपाटन सडकखण्डमा पर्ने ८ पुलमध्ये ६ वटा निर्माण भएको जनाएको छ । तर, दुईवटा पुलको अझैसम्म ठेक्कासमेत लागेको छैन । ढोरपाटन नगरपालिका पर्ने दोवल खोलाको पुल र बहुला बासेको पुल नक्सा डिजाइन हुँदैछ ।

दोवल खोलाको पुल डिजाइन २०७४ सालमा भएको थियो । तर, ठेक्का नलगाउँदै २०७७ सालमा आएको बाढीले खोलाको स्वरूप नै परिवर्तन गरिदिएपछि फेरि समस्या आएको प्रमुख इन्जिनियर परियारले बताइन् ।

सास्ती भोग्दै स्थानीय

अर्घाखाँचीको निगालीमा ठेकेदारले काम नगरी ठाउँ-ठाउँमा सडक खन्ने तर समयमा निर्माण नगर्ने गर्दा धुलो खाँदै बस्नुपरेको स्थानीय घनश्याम पौडेल गुनासो गर्छन् । समयमा काम सके बुटवल पुग्न धेरै दूरी कम हुने भएकाले सडक निर्माणको काम छिटो सक्नु पर्ने उनी बताउँछन् ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकहरूलाई बागलुङको ढोरपाटन घुम्न सहज होस् भन्ने उद्देश्यले सडक निर्माण सुरु गरिएको हो । लुम्बिनी प्रदेश पर्यटन बोर्डका कार्यकारी रामु जोशी सडक निर्माणपछि सिकार आरक्षण क्षेत्र पुग्न पर्यटकलाई सुगम तथा होटल, होमस्टेलगायतका पर्यटकीय गतिविधिले बढवा पाउने अपेक्षा गरिए पनि काम भने निकै सुस्त गतिमा भएको बताउँछन् । -शिलापत्रबाट

प्रकाशित मिति : १३ असार २०८० बुधबार ००:००  ८ : ४३ बजे