७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

संयुक्त राष्ट्रसंघका उपमहासचिव लुम्बिनी भ्रमणमा



रुपन्देही ।
संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स बिहीबार बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । भ्रमणमा आएका उपमहासचिव पियरेलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ ।

कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेशकुमार त्रिपाठी) सहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, सूचना अधिकारी राजन राई, बोर्ड सदस्य विश्वराज पौडेलले उमहासचिवलाई खादा ओढाएर लुम्बिनीमा स्वागत गरेका छन् ।

उक्त अवसरमा कोषका उपाध्यक्ष मेत्तेयले लुम्बिनीको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

राष्ट्रसंघको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिवले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुशी लागेको बताए । उनले लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघले सहकार्य गर्दै आएको बताउँदै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए ।

उपमहासचिव ल्याक्रोइक्स मायादेवी मन्दिर, शान्ति दीप, थाइल्याण्ड, कम्बोडिया, फ्रान्स र भियतनामका गुम्बाहरुको भ्रमण गरेका थिए ।

चार दिवसीय भ्रमणको सिलसिलामा नेपाल आएका उपमहासचिव ल्याक्रोइक्सले बुद्ध जन्मस्थल लुम्बिनी पनि भ्रमण गरेका हुन् ।

भ्रमणमा नेपाली सेनाको युद्ध कार्यविभागका विभागीय प्रमुख उपरथी ताराध्वज पाण्डे, रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीसहित नेपाली सेनाका रथीहरुको उपस्थिति थियो ।

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ भने सोही शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा नेपाल पहिलो नम्बरमा छ ।

प्रकाशित मिति : १४ असार २०८० बिहिबार ००:००  ९ : ५७ बजे