१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

६ महिनामा ५ लाख २४ हजार पर्यटकले गरे लुम्बिनीको भ्रमण



लुम्बिनी ।
बुद्ध जन्मस्थल लुम्बिनीमा पछिल्लो ६ महिनामा ५ लाख २४ हजार ६३३ पर्यटक लुम्बिनी आएका छन् । सन २०२३ सुरु भएयता जुनको अन्तिमसम्म सो संख्यामा पर्यटक आएका हुन् । यो अघिल्लो वर्षको तुलनामा झण्डै एक लाखले बढि हो । सन २०२२ मा जुन महिनासम्म ४ लाख २६ हजार ६९२ पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।

कोरोना संक्रमणका कारण सन २०२० को सुरुदेखि लुम्बिनीको पर्यटक क्षेत्र पनि संकटमा परेको थियो । २ वर्ष पर्यटकीय गतिविधि ठप्प जस्तै बन्यो । २०२२ मा आन्तरिक पर्यटक र केही मात्रामा भारतीय पर्यटकको चहलपहल थियो । यो वर्ष भने लुम्बिीमा तेस्रो मुलुकका पर्यटकको आवागमन पनि बढेको छ । सन् २०२३ यता लुम्बिनी घुम्न आएका ५ लाख २५ हजारमध्ये ३ लाख ५५ हजार ८५० आन्तरिक पर्यटक रहेका छन् । पछिल्लो ६ महिनामा १ लाख ३३ हजार १९९ भारतीय लुम्बिनी घुम्न आएका छन् ।

तेस्रो मुलुकबाट ३५ हजार ६०४ जना बुद्ध जन्मस्थलमा आएको लुम्बिनी विकास कोषले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटक १० गुणाले बढेको देखिएको छ । सन २०२२ मा जुन महिनासम्म ३ हजार २९४ राहदानी वाहक पर्यटक मात्र लुम्बिनी आएका थिए । ६ महिनायता लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकमा सबैभन्दा बढि थाइल्याण्डका छन् । थाइल्याण्डबाट २०२३ यता ८ हजार २९८ पर्यटक लुम्बिनी आएका छन् ।

यस्तै श्रीलंकाबाट ५ हजार ७३७ र म्यानमारबाट ५ हजार ४१९ पर्यटक आएका छन् । भियतनामबाट ३ हजार ३५९, दक्षिण कोरियाबाट ३ हजार ४१ र चीनबाट १ हजार ६०१ पर्यटक लुम्बिनी आएको कोषको तथ्यांकमा उल्लेख छ । अन्य मुलुकको आगमन दर एक हजार भन्दा कम छ । लुम्बिनीमा पर्यटकको चहलपहल बढेको भएपनि कोभिड भन्दा अघिको अवस्थामा अझै पुगेका छैन । नेपाली र भारतीय पर्यटकको आगमन लगभग पहिलेको अवस्था जस्तै भएपनि तेस्रो मुलकका पर्यटक आगमन अझै त्यो अवस्थामा आइपुगेको छैन ।

कोरोना अघि २०१९ मा पर्यटक आगमन अहिलेको भन्दा धेरै राम्रो थियो । सन् २०१९ को जुन महिनासम्म ८३ हजार ११९ पर्यटक लुम्बिनी आएका थिए । यो संख्या २०२३ को तुलनामा दोब्बर भन्दा बढि हो । आगामी सिजनमा पर्यटक आगमन अझ बढ्न सक्ने अनुमान गरिएको छ । गर्मी र वर्षा याम लुम्बिनीमा पर्यटनको अफ सिजन हो । वर्षापछि लुम्बिनीको पर्यटकको आगमनमा अझ बढ्ने लुम्बिनी होटल संघका पूर्वअध्यक्ष मिथुनमान श्रेष्ठले बताए ।

“यो वर्ष सुनसान भएन पर्यटक आगमनमा सुधारसँगै विदेशीको चहलपहल राम्रो भयो” उनले भने, “आउँदो नोभेम्बरबाट विदेशी पर्यटक आगमन धेरै राम्रो हुन्छ भन्ने आशा गरेका छौं ।” श्रेष्ठले लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि नारायणगढ बुटवल सडक छिटो सम्पन्न गर्न र अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सुचारु हुन आवश्यक रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २१ असार २०८० बिहिबार ००:००  १२ : ४९ बजे