२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

आफ्नै मौलिक गीत निर्माण गर्ने विजयनगर कपिलवस्तुको पहिलो पालिका



मायादेवी अनलाइन, चन्द्रौटा ।
विजयनगर गाउँपालिका आफ्नै मौलिक गीत निर्माण गर्ने कपिलवस्तुको पहिलो पालिका बनेको छ । विजयनगरको पहिचान बढाउने उद्धेश्यले तयार पारिएको गीत बिहीबार विमोचन गरिएको छ । १० पालिका रहेको जिल्लामा अहिलेसम्म कसैले आफ्नै मौलिक गीत सार्वजनिक गरेका थिएनन् ।

गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकका अवसरमा गाउँपालिकाले निर्माण गरेको आफ्नै मौलिक गीतको अडियो सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको हातबाट गीत बजाएर गाउँसभामा सार्वजनिक गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले गाउँपालिका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु, भाषा सँस्कृति, उर्वरभूमि लगायतका विषयवस्तुहरु गीतमा समेट्ने प्रयास गरिएको बताए । उनले भिडियो बनाउने काम सुरु भएको र भिडियो सम्पन्न पश्चात् भिडियोसहित सामाजिक सञ्जालनमा सार्वजनिक गरिने उनले बताए ।

गीतको लय तथा शब्द संकलन लोक तथा आधुनिक गायक दिपक भण्डारीले गरेका हुन् भने गीतमा गायक भण्डारीको साथमा लोक तथा दोहोरी गायिका मञ्जु भट्टराईले स्वर दिएकी छन् । गायक दिपक भण्डारी लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका प्रथम उपाध्यक्षसमेत रहेका छन् ।

विजयनगर गाउँपालिकामा नै रहेर राष्ट्रिय स्तरमै छुट्टै पहिचान बनाएका भण्डारीले विजयनगर गाउँपालिकालाई देशैभरि चिनाउने उद्धेश्यका साथ गीत तयार गरेको बताए ।

प्रकाशित मिति : २८ असार २०८० बिहिबार ००:००  ९ : ०२ बजे