२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

कार्लोस अल्कारेजले जिते विमबल्डन टेनिसको उपाधि



एजेन्सी ।
विश्व नम्बर एक कार्लोस अल्कारेजले पहिलो पटक विमबल्डन टेनिसको उपाधि जितेका छन्। उनले सर्वियन नोभाक जोकोभिचको २४ औँ ग्रान्डस्लाम जित्ने सपनाको अन्त गर्दै करिअरको पहिलो विमबल्डन तथा समग्रमा दोस्रो ग्रान्डस्लाम जितेका हुन्।

स्पेनिस २० वर्षीय युवा स्टार अल्कारेजले १-६, ७-६ ९८-६०, ६-१, ३-६ र ६-४ ले खेल आफ्नो पक्षमा पार्दै डिफेन्डिङ च्याम्पियन जोकोभिचलाई निरास बनाए। हारसँगै जोकोभिचको लगातार पाँचौँ जित, आठौँ विम्बल्डन उपाधि तथा २४ औँ ग्रान्डस्लाम जित्ने कीर्तिमानहरू पूरा हुन पाएनन्।

जितपछि अल्कारेजले भने, ‘मेरो लागि सपना यथार्थमा बदलिएको छ’ उनले भने,’यदि म पराजित भएको भएपनि म आफूप्रति गर्व गर्ने थिएँ। किनकि यो स्टेजमा पुग्नु एक २० वर्षीय खेलाडीको आफैंमा ठूलो उपलब्धि हुने थियो।’

उनले चौँथो पटक मात्र ग्रास कोर्टमा प्रतिस्पर्धा गरेका हुन्। साथै उनको यो विम्बल्डनमा केवल १२ औँ खेल थियो।

अल्कारेजको यो दोस्रो ग्रान्डस्लाम हो। यसअघि उनले गतवर्ष युएस ओपनको उपाधि जित्दै करिअरको पहिलो ग्रान्डस्लाम जितेका थिए।

अल्कारेज विम्बल्डनको उपाधि जित्ने तेस्रो कान्छो खेलाडी बनेका छन्। विम्बल्डन इतिहासमा १७ वर्षीय बोरिस बेकरले १९८५ मा उपाधि जित्दै सर्वाधिक कम उमेरमा उपाधि जित्ने कीर्तिमान बनाएका थिए। त्यस्तै, १९७६ मा २० वर्षीय बर्न बोर्डले उपाधि जितेका थिए।

हारपछि आँशु थाम्न नसकेका जोकोभिचले भने ‘यसप्रकारको पराजय कसैलाई पनि राम्रो लाग्दैन तर भावनालाई एकातिर राख्दा यी उपलब्धिबाट खुसी भएको छु।’

उनले धेरै कठिन खेलहरू यो कोर्टमा खेलेको भन्दै केही हारेका खेलहरू जितेको र केही जितेका खेल हारेको भन्दै त्यस्तै मध्ये एक खेल यो पनि भएको बताए।

उनले राम्रो खेलाडीसँग पराजित भएको भन्दै अल्कारेजलाई बधाई समेत दिए।

प्रकाशित मिति : १ श्रावण २०८० सोमबार ००:००  ८ : १५ बजे