२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्यो



काठमाडौँ ।
कालीखोलामा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलाइएको छ । पहिरोका कारण बिहानैदेखि रोकिएका गाडीलाई गन्तव्यसम्म पठाउनका लागि एकतर्फी सडक खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी चण्डेश्वर साहका अनुसार रोकिएका गाडीलाई पास गराए पछि फेरि सडक बन्द गरी पहिरो हटाइने छ । थप पहिरो नखसे अबको तीन घण्टामा सडक खुलाउने तयारी भएको उहाँले जानकारी दिनुभयो । तर, लगातार ठूलो पानी परिरहेकाले यो सडक खण्डमा थप पहिरोको जोखिम छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोलामा बिहान सवा ५ बजेतिर लेदोसहितको ठूलो पहिरो खसेको थियो । पहिरो खसेपछि सडक अवरुद्ध हुँदा गाडीको लामो लाइन लागेको छ । प्रहरीले यो सडक भएर आज सकेसम्म यात्रा नगर्न अनुरोध गरेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डमा पानी पर्नासाथ पहिरो जाने गरेको छ । यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । यसैबीच, लगातारको वर्षाका कारण देशका अन्य विभिन्न ठाउँमा पनि पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

पहिरोका कारण हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ र हेटौँडा–कुलेखानी–काठमाण्डौ सडक अवरुद्ध भएको छ । कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ लामराङमा गएराति पहिरो गएकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै हेटौँडा–कुलेखानी–काठमाण्डौ सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ ज्यालटारमा पहिरो जाँदा हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्ड अवरुद्ध भएको छ । प्रहरीका अनुसार दुवै सडक खुलाउन सडक विभागसँग समन्वय भइरहेको छ । तर, लगातार पानी परिरहेकाले तत्काल सडक खुल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

यस्तै, पहिरोका कारण दाङको घोराही–लमही सडक खण्ड पनि अवरुद्ध छ ।

घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । यस्तै, पहिरोले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको हो ।

अविरल वर्षाका कारण लोकमार्गको बाग्लुङ–बुर्तिबाङ सडक खण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बाग्लुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ श्रावण २०८० मंगलबार ००:००  ९ : १० बजे