२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

बिद्यालयका समस्या अन्त्य गर्न शैक्षिक सुधारको योजना बनाउँदै मालारानी



नबिन के.सी, अर्घाखाँची ।

अर्घाखाँचीको मालारानी गाउँपालिका शिक्षा शाखाको आयोजनामा मालारानी गाउँपालिकाभित्र रहेका सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको लागि बिद्यालयका प्रधानाध्यापक र पालिकाका कर्मचारी एवम् जनप्रतिनिधि बीच अन्तरसंवाद सम्पन्न भएको छ ।

पालिकाभित्र रहेका सामुदायिक बिद्यालयहरुको समस्या तथा बिद्यालयले गर्नुपर्ने कार्य र पालिकाले खेल्नुपर्ने भूमिकाको बिषयमा अन्तरसंवाद भएको मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले बताउनुभयो । ‘बिद्यालयहरुको अबस्थाको बारेमा रिपोटिङ्गसँगै आगामी दिनको कार्ययोजना समेत निर्माण गरी सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि नियमित रुपमा छलफल गर्ने गरी प्रध्यानाध्यापकसँग बैठक सम्पन्न गरेका छौ,’ भट्टराईले भने।

वडास्तरमा रहेको शिक्षा समितिले कार्यतालिका नै बनाएर काम गर्ने गरी निर्णय भएको पालिकाका सामाजिक बिकास समितिका संयोजक तिलक मिश्रले बताउनुभयो । ‘कक्षा ५ को उपलब्धि परिक्षण भदौको पहिलो हप्ताभित्र, वडा शिक्षा समितिले केन्द्र निर्धारण र परिक्षा व्यबस्थापन गर्ने , प्रश्न पत्र कार्यालयले निर्माण गर्ने र बिद्यालयको प्रथम त्रैमासिक परीक्षाको नतिजा बिश्लेषण, प्रधानाध्यापकको बैठक र अभिभाबक बिच अन्तरक्रिया कार्य भदौको पहिलो हप्ता भित्र वडा शिक्षा समितले गर्ने गरी निर्णय भएको छ,’ उनले भने।

पालिका भित्रबाट एसईई परिक्षाको नतिजाको समेत समिक्षा गरी आगामि दिनमा नतिजा राम्रो बनाउन सरोकारवालाको भुमिकाको बिषयमा छलफल संगै कार्ययोजना निर्माण भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले जानकारी दिनुभयो । ‘यस पटक मालारानी गाउँपालिकाका १४ वटा बिद्यालयबाट एसईई परीक्षामा ५ सय ५४ जना बिद्यार्थी सहभागी भएकोमा प्राप्त भएको नतिजाको बिश्लेषण गरि आगामी दिनमा सुधारका योजनाहरु समेत अगाडि बढाउनुका साथै प्रधानाध्यापकहरुलाई बिद्यालयको शैक्षिक, प्रशासकीय र ब्यवस्थापकीय कार्यकुशलता प्रदर्शन गर्न उत्प्रेरित गरेका छौ ।’

पालिकाले स्थानीय पाठ्यक्रमको स्रोत सामाग्री निर्माण गर्नको लागि कार्यदल समेत निर्माण गरेको पालिकाका शिक्षा अधिकृत रमेश पन्थीले बताउनुभयो ।

पन्थी भन्छन्, ‘पालिकाले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण सम्पन्न गरी कार्यन्वयन गर्ने चरणमा रहेकोमा यसवर्ष उक्त पाठ्यक्रम कार्यान्वयनमा सहजीकरणको लागि श्रोत सामग्री निर्माणको तयारी थालिएको छ । पालिकाका भित्र रहेका ३३ वटा बालबिकास केन्द्रमा स्मार्ट टिभिबाट अध्यापन गराउने कार्यको सुरुवात तुरुन्तै गर्दैछौं ।’

शैक्षिक गुणस्तर सुधारको लागि बिद्यालयले गरेका प्रयास र गाउँपालिकासंगको अपेक्षा र समस्याहरुका बिषयमा पालिकालाई जानकारी गराएको सरस्वती आधारभुत बिद्यालयका प्रध्यानाध्यापक कृष्ण पौडेलले बताउनु भयो । ‘यसप्रकारको अन्तरसंवादले शैक्षिक गुणस्तर सुधार गर्न र बिद्यालयका समस्याहरु समेत राख्न पाईने र समाधानको प्रयास हुने हुदाँ यस्ता संवादलाई निरन्तरता दिनुपर्दछ,’ उनले भने ।

सामाजिक बिकास समितिका संयोजक तिलक मिश्रको अध्यक्षता, गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईको प्रमुख आतिथ्य, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालको विशिष्ट आतिथ्य, शिक्षा शाखाका प्रमुख रमेश पन्थीको स्वागत मन्तव्य र प्रस्तुतीकरण रहेको उक्त कार्यक्रमको संचालन प्राबिधिक साहायक सरिता पन्थीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८० बुधबार ००:००  ८ : ५३ बजे