४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

संसदको गतिरोधबारे राष्ट्रपतिको चासो



काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बिहीबार साँझ भएको भेटमा उनीहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड नियमित भेटघाटका क्रममा राष्ट्रपति कार्यालय पुगेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसमक्ष विश्व खाद्य कार्यक्रमबारे ब्रिफिङसमेत गरेका थिए । प्रधानमन्त्री प्रचण्ड यही साउनको पहिलो साता इटालीमा संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालयले आयोजना गरेको कार्यक्रम सहभागी भइ फर्किएका थिए ।

प्रेस सल्लाहकार पोखरेलका अनुसार प्रधानमन्त्री इटालीमा आयोजित विश्व खाद्य कार्यक्रमबाट फर्किएयता राष्ट्रपतिसँग भेट भएको थिएन । आजको भेटमा राष्ट्रपतिले उक्त कार्यक्रमबारे जानकारी लिएका थिए ।

साथै, उक्त भेटमा राष्ट्रपति पौडेलले अवरोध संसद खुलाउन भइरहेको सहमति प्रयासबारे चासो राखेका थिए । एक क्विन्ट सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८० बिहिबार ००:००  १० : ०८ बजे