१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एकदिवसीय क्रिकेट शृङ्खलाः एक खेल अगाडि नै पाकिस्तानले जित्यो



काठमाडौँ ।
अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खला पाकिस्तानले एक खेल अगाडि नै जितेको छ । श्रीलङ्काको हम्मनटोटामा गएराति भएको दोस्रो खेलमा पाकिस्तान एक विकेटले विजयी भयो । जितका लागि ३ सय १ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर भेट्टायो ।

पाकिस्तानका इमाम उल हकले सर्वाधिक ९१ रन बनाए । पाकिस्तानलाई अन्तिम ओभरमा जिताएका नसिम शाह ५ बलमा २ चौकासहित १० रनमा अविजित रहे । यो खेलमा अन्तिम ओभर रोमाञ्चक भयो । अन्तिम ओभरको पहिलो बलमा फजलहक फारुकीले शादब खानलाई नन स्ट्राइकरमा रनआउट समेत गरेका थिए । शादब खानले ४८ रन बनाए ।

अफगानिस्तानका फजलहक फारुकीले ३ विकेट लिए । मोहम्मद नाबीले २ विकेट लिए । मुजिब उर रहमान र अब्दुल रहमानले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय रन बनाएको थियो ।

अफगानिस्तानका रहमानउल्लाह गुरबाजले सर्वाधिक १ सय ५१ रनको शतकीय पारी खेले पनि शृङ्खला जोगाउन सकेनन् । इब्राहिम जद्रान ८० रनमा आउट भए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ विकेट लिए । नसिम शाह र उस्मा मिरले एकरएक विकेट लिए ।

पहिलो खेलमा पाकिस्तान १ सय ४२ रनले विजयी भएको थियो । पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई ५९ रनमा नै अल आउट गरेको थियो । तेस्रो तथा अन्तिम खेल भोलि शनिवार हुनेछ।

प्रकाशित मिति : ८ भाद्र २०८० शुक्रबार ००:००  ७ : ०१ बजे