१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राप्रपा बाणगंगाले जनसरोकारका विषयमा ९ बुँदे ज्ञापन पत्र बुझायो



मायादेवी अनलाइन, बाणगंगा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बाणगंगाले आम जनसरोकारका विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ । मंगलबार बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याललाई ९ बुँदे ज्ञापन पत्र पेश गरेको हो ।

राप्रपाले जनता, राष्ट्र, धर्म, सुशासन र भ्रष्टाचार विरुद्ध निरन्तर खबरदारी गरिरहेको बताउँदै नगर भित्रका समस्याहरु समाधान गर्न भन्दै ९ बुँदे ज्ञापन पत्र पेश गरी ध्यानाकर्षण गराइएको बाणगंगा नगर कार्यसमिति कपिलवस्तुका अध्यक्ष गिरीराज कँडेलले बताए ।

ज्ञापन पत्रमा, संविधानले ग्यारेन्टी गरेको शिक्षा, स्वास्थ्य जस्ता विषय नागरिकले निशुल्क प्राप्त गर्ने नैसर्गिक अधिकार रहेकाले शिवराज नगरपालिकाले जस्तै कक्षा १२ सम्म निशुल्क शिक्षा गर्नुपर्ने र स्वास्थ्य वीमाको केही रकम नगरपालिकाले लगानी गर्नुपर्ने बताइएको छ ।

नगर भित्रका मठ मन्दिर, मस्जिद, गुरुकुल शिक्षा लगाएको क्षेत्रमा लगानी बढाई संरक्षण गर्नुपर्ने, नगर भित्रको सवैभन्दा ठुलो समस्या छाडा चौपायाको व्यवस्थापन गर्नुपर्ने, भूमिहिन सुकुम्बासी, भूमिहिन दलित, अव्यवस्थित वसोवासको तथ्यांक संकलन गरी भूमि आयोगको समन्वयमा तत्काल जग्गा धनिपुर्जा उपलब्ध गराईनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यस्तैगरी करको दर घटाई सुशासन र भ्रष्टाचार मुक्त नगर निर्माण, फोहोरमैला व्यवस्थित र लागु औषध दुव्र्यसनी रोकथाम, नगरका गौरवका योजना सम्पन्न, किसानलाई समय मै मलखाद उपलब्ध र गौहत्या बन्द गर्नुपर्ने विषय समावेश छन् ।

ज्ञापन पत्र ग्रहण गर्दै नगर प्रमुख चक्रपाणी अर्यालले नगरवासीका समस्यामा आफु गम्भिर भई समस्या समाधानमा बार्षिक योजनामै कार्यक्रमहरु समावेश गरी अघि बढेको जानकारी दिए । प्रदेशकै समस्याको रुपमा रहेको छाडा चौपायाको व्यवस्थापनमा विभिन्न तहमा छलफल र समन्वय भईरहेको बताउदै मधुवन क्षेत्रमा निर्माणाधिन गौशालाको व्यवस्थापनलाई पूर्णता दिने बताएका छन् । लागुऔषध दुव्र्यसनको विकराल स्थिती रहेको वाणगंगामा यसको रोकथाम र नियन्त्रणमा आफु लागिरहेको नगर प्रमुख अर्यालले बताए । उनले नगरका समस्यालाई जनताको साथ र सहयोगबाट क्रमशः समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य ध्रुब रायमाझी, लुम्बिनी प्रदेश अध्यक्ष रामु शर्मा, जिल्ला संघठन प्रमुख राजेन्द्र बिक्रम शाह, जिल्ला उपाध्यक्ष चन्द्र भण्डारी, नगर युवा अध्यक्ष राजेन्द्र प्रसाद चौधरी लगाएको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८० मंगलबार ००:००  ४ : १९ बजे