४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

डीएसपी ठगबहादुर केसीविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा



काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुखसमेत रहेका डीएसपी केसीविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

आयोगका अनुसार डीएसपी केसीले बुटवल उप–महानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिई फिर्ता गर्नको लागि रकम माग गरेका थिए । साथै उनको निवासबाट नगदसहित सुन बरामद भएको थियो ।

अनुसन्धानको क्रममा उनले २०७९ मंसिर २५ गते ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिई गई १५ दिनसम्म आफू कार्यरत कार्यालयका राखेको खुलेको थियो ।

आयोगका प्रवक्ता दाहालका अनुसार उनले अन्य जिम्मेवार कर्मचारीलाई पनि कुनै जानकारी गराएका थिएनन् । १५ दिनसम्म आफैंसँग गोप्य राखी सेवाग्राहीसँग अन्य व्यक्तिमार्फत घुसको मोलमोलाई गरी ८ लाख ५० हजार रुपैयाँ नगद र ९ लाख ५० हजारको चेक लिएर अन्य व्यक्तिमार्फत सुन फिर्ता दिन लगाएको पुष्टि भएको थियो ।

उनीविरुद्ध कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८० बुधबार ००:००  ५ : ५८ बजे