१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरस नेपाल भ्रमणमा आउने



एजेन्सी ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस नेपाल भ्रमणमा आउनुहुने भएको छ । तीन दिन नेपालमा रहने गुटेरसले शान्ति प्रक्रियाका विषयसहित जलवायु परिवर्तन र अति कम विकसित देशका विषयमा छलफल गर्नुहुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

गुटेरसको भ्रमण यही अक्टोबर महिनाभित्र हुने भए पनि मिति यकिन भएको छैन । यसअघि सन् २००८ को अक्टोबरमा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि मुनले नेपालको भ्रमण गर्नुभएको थियो । त्यस बेला पनि प्रचण्ड नै प्रधानमन्त्री हुनहुन्थ्यो । त्यो बेला माओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो चुनावबाट सरकारमा पुगेको थियो ।

गुटेरसको भ्रमण शान्ति प्रक्रिया टुङ्ग्याउन अर्थपूर्ण हुने विश्लेषकहरू बताउँछन् । शान्ति सेना, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, शान्ति प्रक्रियासँगै आर्थिक–सामाजिक विकासका मुद्दाहरूमा नेपाल र संयुक्त राष्ट्रसङ्घको सम्बन्ध नजिकको रहेको छ ।

सन् १९५५ मा राष्ट्रसङ्घको सदस्य बनेको नेपालमा अहिलेसम्म छ जना महासचिवले भ्रमण गरेका छन् । विश्वकै उच्च कुटनीतिज्ञ पनि भनिने राष्ट्रसङ्घका महासचिवको पद राष्ट्रप्रमुखसरह सम्मानित मानिन्छ ।

प्रकाशित मिति : १७ आश्विन २०८० बुधबार ००:००  ७ : २७ बजे