१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कपिलवस्तुको हेमराज माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन



मायादेवी अनलाइन, बाणगंगा ।

कपिवलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं ११ हथाैसा अवस्थित हेमराज मा.वि.मा शुक्रबार भएको अभिभावक भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको छ ।

हरिद्वार प्रसाद चौधरीको अध्यक्षतामा गठित नयाँ विद्यालय व्यवस्थापन समितिको कार्यसमितिमा विक्रम चौधरी, निर्मला खनाल आत्रेय, मोहम्मद अली, बिमला चौधरी र शिक्षक प्रतिनिधि दर्पण भट्टराई रहेका छन् भने शिक्षक अभिभावक संघमा शिक्षक प्रतिनिधि विकाश श्रेष्‍ठ लगायत ८ जना चयन भएपनि अध्यक्षको भने टुङ्गो नलागेको विद्यालयले जनाएको छ ।

बाणगंगा नगरपालिका शिक्षा,युवा तथा खेलकुद विकास शाखाका प्रमुख खिम बहादुर जिसीको अध्यक्षता, वाणगंगा नगरपालिकाकी नगर उप-प्रमुख रीताकुमारी चौधरीको प्रमुख आतिथ्यता र बाणगंगा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष नरेन्‍द्रप्रसाद चौधरीको विशिष्‍ट आतिथ्यतामा कार्यक्रम सम्पन्‍न भएको थियो ।

कार्यक्रममा यसको औचित्यमाथि विद्यालयका प्रधानाध्यापक तुलसीराम यादवले प्रष्ट पार्नुभएको थियो । त्यसै गरी कार्यक्रम झबिन्द्र प्रसाद खनालको स्वागत मन्तव्य र नेत्रलाल अर्यालको सञ्‍चालनमा सम्पन्‍न भएको हो ।

भेलामा बोल्दै वाणगंगा नगरपालिकाकी उपप्रमुख रीताकुमारी चौधरीले हेमराज मा.वि. विगतका वर्षहरुमा उत्कृष्ट नतिजा ल्याइ जिल्लामै विशिष्‍ट स्थान हासिल गर्न सफल भएकोले यो विद्यालयले धेरैको विश्‍वास जित्‍न सफल भएको बताइन् । उनले नवगठित कार्यसमितिलाई बधाई दिँदै यस विद्यालयको विकासमा सबै हातेमालो गरेर अंगाडि बढ्नुपर्ने जिकिर गरिन्।

आफूले पनि माध्यमिक तहसम्म त्यसै विद्यालयमा अध्ययन गरेकोले विद्यालयको समग्र विकासका निम्ति आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

प्रकाशित मिति : १९ आश्विन २०८० शुक्रबार ००:००  ९ : १२ बजे