११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

किसानलाई चाडवाड अगाडि नै दूधको रकम भुक्तानी गर्न मन्त्री भुसालको निर्देशन



काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले किसानलाई दूध वापतको रकम तत्काल भुक्तानी गराउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय दूग्ध विकास बोर्डको बैठकमा दूध खरिद गरेवापत भुक्तानी दिन बाँकी रहेको रकम चाडपर्व अघि उपलब्ध गराउन मन्त्री भुसालले निर्देशन दिएका हुन् ।

बोर्डको अध्यक्षसमेत रहेका मन्त्री भुसालले चाडवाडको मुखमा किसानलाई बिचल्ली नपार्न दूग्ध विकास संस्थान (डीडीसी) र निजी क्षेत्रका डेरी उद्योगलाई निर्देशन दिएका हुन् ।

बैठकमा मन्त्री भुसालले रकम नभएको बहानामा किसानको भुक्तानी रोक्न नमिल्ने बताए । ‘किसानलाई दुधको भुक्तानी दिन रकमको अभाव छ भने बैंकसँग सहुलियत दरमा ऋण उपलब्ध गराइदिन पहल गर्छु’, मन्त्री भुसालले भने ।

मन्त्री भुसालले बजारमा बिक्री नभएर डीडीसी र निजी क्षेत्रसँग ठूलो परिमाणमा स्टक भएर बसेको मख्खन र पाउडर(धुलो) दुधलाई धितो राखेर पनि बैंकबाट सहुलियत दरमा ऋण लिएर किसानलाई भुक्तानी उपलब्ध गराउन उनले निर्देशन दिएका हुन् ।

मख्खन र धुलो दुधलाई धितो मानेर ऋण उपलब्ध गराइदिन आवश्यक पहल आफूले गरिदिने मन्त्री भुसालले प्रतिवद्धता जनाएका थिए ।

बैठकले बजारमा बिक्री नभएर डीडीसी र निजी क्षेत्रका डेरीसँग ठूलो परिमाणमा भण्डारण भएर बसेको पाउडर दूध र वटर(मख्खन) को हकमा चाडवाड लक्षित योजना बनाएर मूल्य घटाएर बिक्री गर्ने निर्णय गरेको छ ।

यसबापत प्राप्त हुने रकम दुध किसानलाई वक्यौंता रकम उपलब्ध गराउने निर्णय भएको छ । यो हुन नसके सरकारी बैंकहरुसँग उक्त पाउडर दूध र मख्खनको बजार मूल्यको आधारमा धितो राखेर सहुलियत दरमा ऋण लिएर किसानलाई भुक्तानी उपलब्ध गराउने निर्णय भएको छ ।

बदलिँदो परिवेशअनुसार नयाँ दुग्ध नीति ल्याउने बिषयमा बोर्डले निर्णय गरेको छ । नयाँ दुग्ध नीति ल्याउने विषयमा राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवको अध्यक्षतामा ९ सदस्यीय मस्यौदा समिति गठन गरिएको छ । समितिलाई १५ दिनभित्रमा प्रारम्भिक मस्यौंदा तयार गर्न समयअवधि दिइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८० शनिबार ००:००  ७ : ०० बजे